अर्थ

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं। नेप्से परिसूचक निरन्तर ओरालो लागेपछि लगानीकर्ता हताश बन्दै गएका छन्। नेप्से परिसूचक साताको पहिलो सेयर कारोबार दिन आइतबारदेखि निरन्तर ओरालो लागिरहेको छ। नेप्से परिसूचक घट्दै गएपछि कारोबार रकममा पनि गिरावट आएको छ।

आज नेप्से परिसूचक १०.२५ अंकले घटेर २०८८.०४ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स ०.१९ अंकले घटेको छ। साताको पहिलो कारोबार दिन आइतबार २५ अंक , दोस्रो कारोबार दिन सोमबार ३१ अंक र तेस्रो दिन मंगलबार ०.४० अंकले घटेर २०९८.२९ विन्दुमा कायम भएको थियो।

परिसूचक घटेसँगै मंगलबारको तुलनामा कारोबार रकम पनि घटेको छ। आज ३११ कम्पनीको १ करोड १० लाख ४९ हजार ९४९ कित्ता सेयर ३ अर्ब ८९ करोड ७० लाख २२ हजार ५९८ रुपैयाँमा खरिदबिक्री भए। मंगलबार ४ अर्ब माथिको सेयर कारोबार भएको थियो।

यसदिन दुईवटा कम्पनीको मात्रै सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। चन्द्रगिरि हिल्स र मिड सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो। तेह्रथुम पावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको २५ करोड बढी मूल्यको सेयर कारोबार भयो। दुई उपसमूहबाहेक बाँकीको सूचक नकारात्मक देखिए।

बैंकिङ र म्युचुअल फण्डबाहेक अन्य उपसमूहको सूचक घटेको हो। यसदिन ८० कम्पनीको मूल्य बढ्दा १५३ वटाको मूल्य भने घट्यो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *