काठमाडौं । बुधवार १२ अंक घटेको बजार बिहीवार ७.२४ अंकले घटेर बन्द भएको छ । यस दिन ७ दशलमव २४ अंक घटेर २ हजार १५५ दशमलव ८२ विन्दुमा कायम भएको हो । नेप्से परिसूचक बुधवार इन्ट्रा डे मा २२ सयमाथि पुगेको थियो । त्यसपछि बिक्रेता हावी हुँदा बजार पुनः २२ सयभन्दा तल झरेर बन्द भएको थियो । यसकै निरन्तरता रुवरुपः बिहीवार पनि बजारमा सामान्य अंक करेक्सन भएको छ । बजारले २२ सयको मनोवैज्ञानिक रेखा तोड्नु अघि केही करेक्सनहरु स्वभाविक भएको लगानीकर्ता बताउँछन् । शेयर बजार करेक्सन हुँदै अघि बढ्ने हो ।
माथिल्ला विन्दुहरु पार गर्नका लागि शक्ति सञ्चय पनि गर्नुपर्ने हुन्छ । विगतमा बजारले धेरै पटक २२ सय आसपासमा पुगेर झरेकाले पनि यो विन्दुमा धेरैको चासो देखिएको छ । बिक्रेताहरु पनि यो लेबलमा आउने जानकारहरु बताउँछन् । यद्धपि पछिल्लो समय यसका लागि घट्दोक्रममा रहेको बैंक ब्याजदर र अधिक तरलता अवस्थाले गर्दा शेयर बजारमा सकारात्मक प्रभाव पर्ने उनीहरुको भनाई छ ।
बिहीवार यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६७ प्रतिशत,फ्लोट इन्डेक्स शून्य दशमलव ४१ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ६७ प्रतिशत घटेको छ ।
बिहीवार २९८ धितोपत्रको २ करोड ११ लाख २५ हजार ७७६ कित्ता शेयर ३ लाख ४ हजार २३ पटकमा रू. ८ अर्ब १७ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये चार धितोपत्रको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । रिडी पावर कम्पनी,सिनर्जी पावर डेभलपमेन्ट , महुली लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
बिहीवार सबैभन्दा बढी तेह्रथुम पावर कम्पनीका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ दशमलव ४३ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन । शेयर मूल्य प्रतिकित्ता रू. ६३४ मा झरेको छ । त्यस्तै दोस्रोमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७ दशमलव ३० प्रतिशत घटेर रू. ९२५ कायम भएको हो ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा हिमालयन रिइन्स्योरेन्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. १ अर्ब ८४ करोड बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६५३ पुगेको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको रू. ३० करोड १८ लाख बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचक मध्ये तीन समूहको सूचक बढेको छ भने बाँकी सबैको घटेको हो । सबैभन्दा बढी अन्य समूहको सूचक १ दशलमव ३० प्रतिशत र घट्नेमा होटल तथा पर्यटन समूहको सूचक १ दशमलव ४२ प्रतिशत घटेको छ ।




