काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको सत्रौँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पूरा गरेका २५३ कर्मचारीलाई सम्मान गरेको छ।
बैंकद्वारा आयोजित कार्यक्रममा ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा ती कर्मचारीलाई सम्मान गरेका हुन्।
अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राखी ग्राहकको सेवा तथा सन्तुष्टिलाई प्राथमिकतामा राखेर बैंकको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताए।
उनले बैंक स्थापनाको १७ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकमा अब्बल बनाउन सफल रहेको बताएका छन्।
नेपाल सरकार र नेपाल राष्ट्र बैंकका नीतिहरूको परिपालन गर्दै जाँदा बैंक अहिलेको अवस्थामा आइपुगेको बताउँदै मेहनत र लगनशीलतामा जोड दिन कर्मचारीलाई आग्रह गरे।
कर्मचारीको अथक परिश्रम र लगनशीलताका कारण बैंक वर्तमान अवस्थामा आइपुगेको बताउँदै अध्यक्ष ढकालले उत्कृष्ट बैंक बनाउन योगदान पुर्याएका भन्दै सबै कर्मचारीलाई धन्यवाद प्रकट गरे।
यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकले आफ्नो सेवालाई नवीनतम र ग्राहकमैत्री बनाउँदै डिजिटल युगमा समयसापेक्ष सेवा दिने लक्ष्य निर्धारण गरी अघि बढेको बताए।
बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले आगामी वर्षमा ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राखी गुणस्तरीय बैंकिङ सेवा दिने प्रतिबद्धता व्यक्त गरे।
उक्त बैंकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेका छन्। बैंकले ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखा रहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय गरी १ हजार १०० भन्दा बढी सेवाकेन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।




