अर्थ

रूपन्देहीका व्यवसायी राजेन्द्र ध्वजू विरुद्ध ३ करोड भन्दा बढी कर छलीको मुद्दा

भैरहवा ।रुपन्देही जिल्लाका प्रतिष्ठित व्यवसायी राजेन्द्र ध्वजूविरुद्ध राजस्व अनुसन्धान कार्यालय, बुटवलले राजस्व छली तथा चुहावट गरेको अभियोगमा मुद्दा दायर गरेको छ । थुप्रै सामाजिक संघसंस्थाहरुमा समेत सक्रिय रहेका ध्वजू बुटवलको अमरपथमा रहेको सपना साडी र त्यसका सञ्चालक हुन् ।

राजस्व कार्यलय बुटवलले स्थायी लेखा नम्बर ३००२०३४८० रहेको सपना साडी सेन्टरका प्रोपराइटर ध्वजू विरुद्ध रु. ३ करोड ३१ लाख ७४ हजार ५ सय २४ बिगो तथा त्यसको शतप्रतिशत जम्मा रु ६ करोड ६३ लाख ४९ हजार ४८ जरिवाना माग गरी उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेको हो ।

गत वर्षको फागुन २ गते राजस्व अनुसन्धान कार्यालय, बुटवलले विशेष सूचनाका आधारमा अमरपथमा रहेको सपना साडी सेन्टरको पसल तथा गोदाममा छापा हानेर पसलको मालवस्तुको मौज्दात विवरण, खरीद÷विक्री खाता, स्टक बुक, बिलका अर्धकट्टी नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

कार्यालयले पसल तथा गोदाममा केही मालवस्तु अधिक मात्रामा देखिएकोमा संचालकले खरिद स्रोत देखाउन नसकेको र केही मालवस्तु खरिद भन्दा विक्री बढी गरेको देखिएको भन्दै अनुसन्धान थालेको थियो ।

अधिक रहेको मालबस्तुको भन्सार तर्फको बिगो रु ३ करोड ४ लाख ४३ हजार ९ सय ४३, मूल्य अभिवृद्धी कर (भ्याट) तर्फ रु. १ लाख ५४ हजार ५ सय ३६ र न्यून मौजदात तर्फ रु. २५ लाख ७६ हजार ४५ गरी कूल ३ करोड ३१ लाख ७४ हजार ५ सय २४ बिगोसहितको माग दाबी गरी मुद्दा दर्ता गरिएको राजश्व अनुसन्धान बुटवलले जनाएको छ ।

राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (प्रथम संशोधन) दफा २३(१) बमोजिम बिगो असूल उपर गरी शतप्रतिशत जरिवाना माग दाबी सहित कार्यालयले मुद्दा दायर गरेको छ । साडी सेन्टरका सञ्चालक ध्वजु भने कार्यालयले छापा हानेदेखि नै राजश्वको सम्पर्कमा नआएको राजश्व कार्यालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *