अर्थ

चार दिनदेखी पोखराको प्याराग्लाइडिङ उडान ठप्प

कास्की ।नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा प्याराग्लाइडिङ उडान रोकेको छ । चार दिन देखि पोखरामा प्याराग्लाइडिङ उडान ठप्प छ । प्याराग्लाइडिङको उड्नेका लागि शुल्क तोक्नेदेखि व्यवस्थापनसम्मको जिम्मेवारी सम्बन्धित कम्पनीलाई दिइएपछि उत्पन्न विवादलाई देखाउँदै प्राधिकरणले उडान रोकेको हो ।

प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था नाले शुल्क तोक्ने र पालो प्रणाली अपनाउने गर्दै आएको थियो । गत शुक्रवारबाट ‘ना’ ले बुधबार सबै अधिकार सम्बन्धित कम्पनीलाई दिएपछि एक सयभन्दा बढी पाइलटले असहमति जनाउँदै आन्दोलनमा उत्रिएका छन् । नेपाल हवाई खेलकुद संस्था ना प्रति पनि असहमति जनाउँदै केही व्यवसायीले सम्पूर्ण अधिकार व्यवसायीलाई दिनुपर्ने माग राखेका थिए । संस्थाले नै शुल्क तोक्नेदेखि आलोपालो प्रणाली लागु गर्नु पनि सिन्डिकेट भएको भन्दै विरोध भएपछि नाले व्यवसायीलाई सबै अधिकार छाडेको हो ।

नाको यो निर्णयपछि पाइलटहरूले आफ्नो सुविधा घट्ने, अव्यवस्थित र असुरक्षित हुने, मनपरी शुल्क लिने क्रम बढ्ने भन्दै उडानसमेत बन्द गराएका थिए ।विवादकै मानसिकतामा उडान भर्न दिँदा झनै असुरक्षित हुने भएकाले समस्या समाधान नहुँदासम्मका लागि उडान रोकिएको नागरिक उड्डयन प्राधिकरणका उपप्रवन्धक तथा सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।

संस्थाको विवादबारे जवाफ माग्दै समस्या समाधान नहुँदासम्म उडान रोक्न निर्देशन जारी गरिएको भुलले बताए । क्यानका अनुसार पोखरामा अहिले प्याराग्लाइडिङ उडान गर्ने ७४ वटा कम्पनी छन् ।

अहिलेसम्म संस्थाले नै शुल्क तोकिदिँदा प्याराग्लाइडिङ उडानको स्वदेशी, विदेशी दुबैका लागि १२ हजार रुपैयाँ तोकिएको थियो ।अब शुल्क तोक्नेदेखि यात्रुलाई सुविधा दिनेसम्मको अधिकार व्यवसायीलाई नै दिँदा अस्वस्थ प्रतिस्पर्धा बढ्ने, पाइलटको सुविधा घट्ने र उडान क्षेत्र झनै अव्यवस्थित हुने पाइलट क्लबका अध्यक्ष दीपक थापाले बताए ।

व्यवसायीहरूले नै एकद्वारा प्रणाली नमान्ने बताएपछि सम्पूर्ण अधिकार व्यवसायीलाई नै दिइएको अध्यक्ष सुनिल भट्टराईले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *