नुवाकोट। बागमती प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको नुवाकोटको दुई सहित प्रदेस भित्रका १० स्थानको शीत भण्डार निमार्णको काम पाच वर्ष पूरा हुदाँपनि अझै अधुरो रहेको छ ।
प्रदेशको तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्माण सुरु गरेको अधिकांश शीत भण्डारको निर्माण कार्य अझै पूरा हुन बाँकी रहेको हो ।
१० शीत भण्डार मध्ये ३ वटाको परीक्षण भएरहेको छ भने ५ वटाको निर्माण कार्य सम्पन्न नजिक पुगेको छ । नुवाकोटमा बनिरहेको २ वटा शीत भण्डारको काम ७० प्रतिशत हाराहारीमा पुगेको दाबी गरेपनि त्यसपछि थप निर्माणले गती नलिदा किसानको लागी अत्यावश्यक रहेको शीत भण्डार गृह अलपत्र परेको छ ।
बागमती प्रदेस सरकारले नुवाकोट र सिन्धुपाल्चोकमा २ वटा सहित रसुवा, धादिङ, चितवन, सिन्धुली, दोलखा र रामेछापमा शित भण्डारको काम अन्तिम चरणमा पुराएको जनाएको छ ।
बागमति प्रदेस सरकारले नुवाकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–१०मा सहकारी संस्था र निजी कम्पनीसँगको साझेदारीमा ७० प्रतिशत रकम मन्त्रालयले बेहोर्ने गरी ठूलो क्षमताको शीत भण्डार निर्माणको ठेक्का सम्झौता गरेको थियो ।
मन्त्रालयले नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ र बेलकोटगढी नगरपालिका वडा नम्बर १० मा पाच हजार मेट्रिक टन क्षमताका शीत भण्डार निर्माणका लागि ठेक्का सम्झौता गरेर काम सुरु गरेपनि समयमै जिम्मेवारी पूरा नगर्दा राज्यको लगानीको दुरुपयोग हुने जोखिम देखिएको छ ।
नुवाकोटमा निर्माणको जिम्मेवारी पाएका दुई वटै शीत भण्डार गृह नेकपा एमालेमा आबद्ध रहेका व्यक्ति सञ्चालक रहेको कम्पनीले पाएको छ ।
विदुर नगरपालिका निर्माणाधीन शीत भण्डारमा साझेदार कम्पनी र मन्त्रालयको कुल १९ करोड ८५ लाख ८१ हजार रुपैयाँ र बेलकोटगढी नगरपालिकामा निर्माणाधीन शीत भण्डारमा २० करोड ३९ लाख ६८ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो । हालसम्म ती दुवै शीत भण्डारको भौतिक संरचनाको काम पूरा हुन बाँकी रहेको छ । दुवै स्थानमा रहेका शीत भण्डारको काम बल्ल ७० प्रतिशत पूरा भएको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म बेलकोटगढीको शीत भण्डार निर्माण बापत मन्त्रालयले १० करोड ८१ लाख ८६ हजार रुपैयाँ खर्च निर्माण कम्पनीलाई भुक्तानी दिइसकेको छ भने ९ करोड ५७ लाख ५१ हजार रुपैयाँ भुक्तानी हुन बाँकी रहेको जनाएको छ ।
यस्तै, विदुर नगरपालिकाको शीत भण्डार निर्माण बापत १० करोड १७ लाख ३२ हजार रुपैयाँ खर्च भुक्तानी भइसकेको भने ९ करोड ६८ लाख ४८ हजार रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।
यसैगरी, रसुवा जिल्लाको कालिका गाउँपालिकामा साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ३ सय मेट्रिक टन क्षमताको शीत भण्डार निर्माणको काम भइरहेको छ । उक्त शीत भण्डार परीक्षण सम्पन्न भएर अहिले सञ्चालनको तयारीमा रहेको जनाएको छ ।
२०७५ सालमा शीत भण्डार निर्माणको लागि डिपिआर तयार पारेर ठेक्का आह्वान गरेको थियो । मन्त्रालयले २०७६ असारमा शीत भण्डार निर्माणको लागि ठेक्का सम्झौता गरेको थियो ।
प्रदेश सरकारले अधिकांश शीत भण्डारको निर्माणको लागि २ वर्षको समय अवधि दिएर ठेक्का सम्झौता गरेर काम सुरु गरेको भए पनि प्रदेस सरकारको अस्थिरता, कोरोना महामारी, साझेदार स्थानीय तह र सहकारीलाई सम्झौता अनुसार निर्माणको लागत मूल्य दाखिला गर्न समस्या भएपछि निर्माणको लक्ष्य भन्दा निकै ढिलो भएको हो ।




