काठमाडौं । ग्लोबल आइएमई बैंक सबैभन्दा धेरै आयकर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था बनेको छ । बैंकले आर्थिक वर्ष २०७८–७९ मा तीन अर्ब २० करोड कर दाखिला गरेको थियो ।
आन्तरिक राजस्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० का अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने करदातामा ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको हो । अर्थमन्त्री डा.प्रकाशशरण महतले ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदरस्वरुप सम्मानपत्र प्रदान गरे ।
हाल बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड छ । सन् २००७ मा वाणिज्य बैंकका रुपमा बैंकिङ कारोबार सुरुआत गरेको ग्लोबल आइएमई बैंकले आफ्नो बैंकिङ यात्रामा विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ती गरी सवल र उत्तरदायी बैंकका रुपमा स्थापित भएको छ ।
बैंकले प्रविधिमैत्री बैंकिङ सेवा तथा सुविधाको पहुँच विस्तार गरी सन् २०२५ सम्म आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य लिएको छ । बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । तीन सय ५० शाखा, तीन सय ६९ एटिएम, तीन सय २२ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर तथा ती वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४२ लाखभन्दा बढी ग्राहकमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।




