काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आर्किड गार्डेनलाई आर्थिक सहयोग प्रदान गरेको छ । महालक्ष्मी बैङ्कले बिहिबार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पिछडिएका बालबालिकाहरुको अधिकार, कल्याण र स्वास्थ्य सुरक्षित गर्ने मुख्य उद्देश्यले स्थापित आर्किड गार्डेन नेपाल परियोजनालाई आर्थिक सहयोग प्रदान गरेको हो । बैङ्कले उक्त सहयोग राउण्ड टेबल नेपालसँग समन्वय गरी सो आर्थिक सहयोग प्रदान गरेको जनाएको छ ।
आर्किड गार्डेन नेपालले विगत १७ बर्ष देखि पिछडिएका बालबालिकाहरुलाई दिवा स्याहार तथा शिक्षा प्रदान गरिरहेको छ । अहिले विद्यालयको आर्थिक अवस्था विगतको भन्दा कम्जोर भएकाले बैङ्कले विद्यार्थी शैक्षिक अवस्था सुधार गर्दै उनीहरुको भविष्य सुधार गर्ने उदेश्यले उक्त विद्यालयलाई ५० हजार रुपैँया प्रदान गरको हो ।
विद्यालय ग्राउन्ड सतह भन्दा करिब ४ फिट तल रहेको, बर्षायाममा कक्षा कोठामा बाढी पस्ने कारणले विद्यालय बन्द गर्नुपर्ने र सरकारी प्राधिकरणबाट विद्यालय सुधारका लागि सूचना समेत आइसकेकोले आर्किड गार्डेन नेपाल परियोजना अन्तर्गत रहि विद्यालय सुधार गर्न लागिएको हो । ६ महिनादेखि ९ वर्षसम्मका १५० जना बालबालिकाहरुलाई दिवा स्याहार सेवा तथा शिक्षा प्रदान गरिरहेको विद्यालयले सुधार पश्चात करिब २०० जना बालबालिकालाई सेवा प्रदान गर्ने जनाइएको छ ।
आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने महालक्ष्मी बैङ्ले जनाएको छ ।




