अर्थ

अब सेयर धितो कर्जाको अधिकतम सीमा २० करोड, पुँजीबजार बढ्ने अपेक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाउँदै आएको १२ करोडको क्याप बढाएको छ। सेयर कारोबारीको मागलाई आंशिक रूपमा सम्बोधन गर्दैअब संस्थागत लगानीकर्ताका सेयर धितो कर्जाको अधिकतम सीमा २० करोड रुपैयाँ र व्यक्तिगत कर्जा लिँदाको सीमा १५ करोड रुपैयाँ पुर्‍याइएको छ।

राष्ट्र बैंकले ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७९ परिमार्जन गरी बिहीबार सेयर धितो कर्जाको सीमा बढाएको हो। ‘कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड कायम गरिएको छ,’ सर्कुलरमा भनिएको छ, ‘धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड कायम गरिएको छ।’

यसअघि कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाहरूबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १२ करोड रुपैयाँ कायम गरिएको थियो। सेयर लगानीकर्ताहरूले कम्तीमा २० करोड रुपैयाँ पुर्‍याउन र संस्थागततर्फ अधिकतम सीमा नतोक्न माग गर्दै आएका थिए। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक साता लामो परामर्शपछि बिहीबार यस्तो निर्णय लिएका हुन् ।

सेयर धितो कर्जाको अधिकतम सीमा १२ करोड कायम गर्दा पुँजीबजार बढ्न सकेको थिएन । लगानीकर्ता लगानी गर्न डराइरहेका थिए । सोही कारण हरेक दिन सेयर बजार राताम्मये बन्ने गरेको थियो । तर अब पुँजीबजार बढ्ने अपेक्षा गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *