काठमाडौं। ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको देउराली सहकारीको १३ अर्ब बचत जोखिममा परेको छ । उपत्यकाको तीन ठाउँमा शाखा कार्यालय विस्तार गरी देउरालीले करिब २५ हजार साना तथा मझौला व्यावसायीबाट झन्डै १३ अर्व रुपैयाँ संकलन गरेको थियो ।
तर अध्यक्ष रवीन्द्र चौलागाईको मोजमस्तीले निक्षेपकर्ताको अर्बौं रुपैयाँ जोखिममा परेको छ । काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका–६ बोक्से खाडीटोलका चौलागाईले ललितपुरको भैंसेपाटीमा १० करोड बराबरको आलिसान महल खरिद गरेका छन् । सहकारीको रकम हिनामिना गरेको भन्दै स्थानीयले समेत विरोध गरेपछि चौलागाईले निवासमा ताल्चा लगाई सपरिवार अहिले काठमाडौको नारायणस्थानमा बस्दै आएका छन् ।
सहकारीमा बचतकर्ताको निक्षेप चौलागाईले दैनिकजसो महँगा होटल र रिसोर्टमा लगेर खर्च गर्ने गरेका छन् ।
उनी निकट सहकारीका एक कर्मचारी भन्छन्– ‘खानामा दैनिक खसीको ह्याकुलो फ्राई, जिब्रो पोलेको, कर्णालीको असला माछा फ्राई हुनै पर्छ । गोदावरीकाे एक पोखरीको ट्राउट माछा फ्राई, कडकनाथ कुखुराको सुप, भाले कालिजको सिउर फ्राई, बोकाको राजखानी फ्राई, हुर्राबंदेलको सुकुटी उनको खाजानास्तामा हुने गरेको छ ।’
देउराली सहकारीको नाममा ठगी धन्दा चलाउँदै आएका चौलागाईंले गरिब बचतकर्ताहरुको रगत पसिनाबाट आर्जित रुपैयाँ मस्ती गर्दै आइरहे पनि सहकारी विभागले अहिलेसम्म अनुगमन गरेको छैन ।




