काठमाडौं । नेप्से परिसूचक पुन २ हजार विन्दुमुनि ओर्लिएको छ । यस भन्दा अगाडि १ हजार ९९० विन्दुमा टेवा पाएर फर्किए पनि दिगो हुन सकेन । परिसूचक दुई दिन ४७ अंक बढेर पुन दुई दिनमै ५२ अंक घट्यो । यसरी हेर्दा लगानीकर्ताहरु बजार प्रति विश्वस्त नभएको देखिन्छ ।
लाभांशको सिजन शुरु भइसकेको छ । म्युचुअल फण्डहरुले लाभांश घोषणा गर्न थालिसकेका छन् । र पनि लगानीकर्ताको सक्रियता घट्दो छ । सोही कारण परिसूचकसँगै कारोबार रकम पनि घट्दो छ ।
नीतिगत अवरोध र ब्याजदर वृद्धिका कारण शेयर प्रभावित भएको लगानीकर्ता बताउँछन् । यस कारण पनि लगानीकर्ताको मनोबल गिरेको देखिन्छ । बजारमा नयाँ, पुराना, साना अनि ठूला सबै प्रकारका लगानीकर्ताको सक्रियता घट्दो रहेको छ ।
मौद्रिक नीतिपछि समग्रमा बजार घट्दो ट्रेन्डमै रहेको छ । केही दिन बजार बढेपनि त्यो दिगो हुन सकेन । बजार बढ्छ भन्ने विश्वास नहुँदा ट्रेडरहरुले थोरै प्रतिफल अथवा कतिपयले घाटामै भएपनि शेयर विक्री गरेर बाहिरिएका छन् । यसोत बजार घट्न थालेसँगै नयाँ र साना लगानीकर्ताहरुले आत्तिएर शेयर विक्री गर्न थाल्छन्, यस कारण पनि बजार थप घट्न पुग्छ । सोही कारण पनि बजार प्रभावित भएको हो ।
साताको पहिलो कारोबार दिन आइतवार पनि नेप्से परिसूचक १ दशमलव ०२ प्रतिशत अर्थात २० दशमलव ५४ अंक घटेको छ । परिसूचक १ हजार ९९३ दशलमव ३८ विन्दुमा झरेको छ । यस दिन २८० धितोपत्रको ३८ लाख ९५ हजार २३६ कित्ता शेयर ३८ हजार ६६६ पटकमा रू. १ अर्ब २६ करोड बराबरको कारोबार भएको हो । सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ८९ प्रतिशत,फ्लोट इन्डेक्स १ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशलमव ९३ प्रतिशत घटेको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत बढेसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७७१ दशमलव २० पुगेको छ । त्यस्तै दोस्रोमा स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ६ प्रतिशत बढेर रू. १ हजार १६६ पुगेको हो ।
आइतवार सबैभन्दा बढी मकर जिुतमाया सुरी हाइड्रोपावरका शेयरधनीले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ दशमलव ६३ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन । शेयर मूल्य प्रतिकित्ता रू. २४३ दशमलव १० मा झरेको छ । त्यस्तै दोस्रोमा लिवर्टी इनर्जी कम्पनीको शेयर मूल्य ६ दशलमव ३० प्रतिशत घटेर रू.२२३ कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. ७ करोड ४६ लाख बराबरको भएको हो । कम्पनीको शेयर मूल्य रू. ६९४ पुगेको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको रू. ५ करोड ४५ लाख बराबरको भएको हो ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव २४ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो । सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक १ दशमलव ७५ प्रतिशत घटेको छ । त्यस्तै दोस्रोमा होटल तथा पर्यटन समूहको परिसूचक १ दशमलव ३६ प्रतिशत घटेको हो ।




