
काठमाडौं । नेपाल राष्ट्र बैंकले नमूना सर्वेक्षणमा परेका पसल तथा संघसंस्थालाई आवश्यक तथ्यांक उपलब्ध गराइदिन आग्रह गरेको छ । राष्ट्र बैंकले आइतबार सूचना निकाल्दै यस्तो आग्रह गरेको हो ।
देशको समग्र मूल्यस्थितिलाई मापन गर्न नेपाल राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकांकसम्बन्धी तथ्यांक नियमित रूपमा प्रकाशन गरिरहेका जनाएको छ । समयको अन्तरालसँगै उपभोक्ताको व्यवहारमा आएको परिवर्तन, बजारमा वस्तु तथा सेवाको उपलब्धतामा आएको परिवर्तन तथा देशको प्रादेशिक संरचनालगायतका कारण आर्थिक वर्ष २०८०/ ८१ लाई नयाँ आधार वर्ष कायम गर्ने उद्देश्य लिएकाले राष्ट्र बैंकले तथ्यांक संकलन कार्यलाई अगाडि बढाएको हो ।
राष्ट्र बैंकले २०८० साउनदेखि २०८१ असारसम्म देशका ७७ जिल्लास्थित तोकिएका बजार केन्द्रहरूमा विभिन्न वस्तु तथा सेवाको विवरण तथा मूल्य सङ्कलन गर्ने कार्य सुरू भएको जानकारी गराउँदै सर्वेक्षणमा परेका संघसस्थाहरुलाई आवश्यक तथ्यांक उपलब्ध गराउन तथ्यांक प्रदायक पसल, संघसंस्थालगायत सरोकारवाला सबैमा अनुरोध गरेको छ । प्राप्त तथ्यांक र जानकारी तथ्यांक ऐन, २०७९ बमोजिम गोप्य रहने राष्ट्र बैंकले जनाएको छ ।
