काठमाडाैं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने भएकाे छ । संस्थाले अधिकृत पूँजीको ४० प्रतिशतले हुन आउने आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको हो। यसका लागि संस्थाले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ।
सम्झौता पत्रमा कम्पनीका तर्फबाट अख्तियार प्राप्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्ण र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन् ।
कम्पनी ऐन २०६३ बमोजिम स्थापित स्वस्तिक लघुवित्तको रजिष्टर्ड कार्यालय सिरहा जिल्ला लहान नपा–८ मा रहेको छ। स्वस्तिक लघुवित्त मधेश प्रदेशस्तरको लघुवित्त वित्तीय संस्था हो र हाल १३ हजारभन्दा बढी परिवारमा वित्तीय सेवाहरु प्रदान गर्दे आइरहेको छ।
सम्झौतामा नबिल इन्भेष्टमेन्टले स्वस्तिक लघुवित्तको सेयरहरु सार्वजनिक निष्कासनका माध्यमबाट सर्वसाधारणमा निष्कासनका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएको छ। पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट सेयर निष्कासनका लागि अनुमति माग गरिने विज्ञप्तिमा उल्लेख छ।




