अर्थ

लघुवित्त तथा सहकारीपीडितले कहिलेसम्म माइतीघर मण्डलामै खाना खाइरहने ?

काठमाडौं । सरकाले समयमै लघुवित्त तथा सहकारीको समस्या समाधानमा ध्यान नदिएपछि लघुवित्त तथा सहकारीपीडितहरू आन्दोलनमा उत्रिएका छन् । सरकारी बेवास्ताका कारण आफ्ना समस्या समाधान गर्न जनता नै अघि सरेका छन् । तर पनि सरकारले उनीहरूको कुरा सुनेको छैन ।

वर्षा, घामपानी नभनी अहिले मिटरव्याजीपीडितहरू माइतीघर मण्डलामा आन्दोलनरत छन् । उनीहरू सडकमै खाना खान बाध्य छन् । माइतीघर मण्डलामा आफ्ना माग सम्बोधनका लागि विभिन्न ठाउँबाट काठमाडौँ आएका लघुवित्त तथा सहकारीपीडितको व्यथा सरकारले सुन्न चाहेको देखिएको छैन ।

सरकारले समयमै आफ्ना माग सम्बोधन गरिदिए आफूहरूले दुःख नपाउनुपर्ने र शान्तिपूर्वक बाँच्न पाउने आश पलाउने आन्दोलनकारीहरू बताउँछन् । तर भाषणमा मात्रै होइन, व्यवहारमै पीडितको समस्या समाधान कहिले हुने हो ? ठेगान छैन ।

लघुवित्त तथा वित्तीय संस्थाविरुद्धको संघर्ष समिति केन्द्रीय समितिले आइतबारदेखि विभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन् । ठूलो संख्यामा लघुवित्त तथा सहकारीहरूले उपभोक्तालाई ठगेका छन् । अहिले पीडितहरू घर न घाटका भएका छन् । यसका लागि नेपाल राष्ट्र बैंकले उनीहरूको समस्या समाधानमा चाँडो जोड दिनु आवश्यक छ ।

मंगलबार मध्यान्ह काठमाडौँको माइतीघर मण्डलामा आन्दोलनरत लघुवित्त तथा सहकारी पीडितहरू सडकमै बसेर खाना खाइरहेका थिए । उनीहरूलाई जय महांकाल युवा समूहले खाना व्यवस्थाको आयोजना गरेको थियो ।

नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी सस्थाको प्रभावकारी नियमनका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गर्ने जनाएको छ । सहकारी संस्थाका बेथिति लगातार सार्वजनिक भइरहेको तथा अनेकन असन्तुष्टि सार्वजनिक भइरहेको अवस्थालाई मध्यनजर गरेर केन्द्रीय बैंकले समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने बताएको हो ।

सार्वजनिक भएको चालू आर्थिक वर्षको मौद्रिक नीतिमा भनिएको छ, ‘आर्थिक वर्ष २०८०/८१ को नेपाल सरकारको बजेटमा उल्लेख भएबमोजिम बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि गरिनेछ ।’ सरकारले चालू आवको बजेटमा सहकारी संस्थाको बेथिति नियमन गर्न आवश्यक व्यवस्था गर्ने उल्लेख गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *