काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतवार (आज) शेयर बजार बढेको छ ।आइतवार नेप्से परिसूचक २ दशमलव ९२ प्रतिशत बढेर २ हजार २२७ दशमलव १६ विन्दुमा पुगेको छ ।
मौद्रिक नीतिले शेयर धितो कर्जाको जोखिमभार पुनरावलोकन गर्ने व्यवस्था गरेसँगै आइतवार शेयर बजारमा सकारात्मक प्रभाव परेको हो । शेयर धितो कर्जामा जोखिमभार घटाएपछि यो क्षेत्रमा बैंकहरू शेयर कर्जा प्रवाह गर्न उत्साहित हुने देखिएको छ ।
जोखिमभार घट्ने भएपछि शेयर धितो कर्जा पनि सस्तो हुनेछ । यस कारण लगानीकर्ताहरू उत्साहित भएको जानकारहरू बताउँछन् ।
हाल शेयर धितो कर्जा लगायतका क्षेत्रमा जोखिमभार १५० प्रतिशत छ । यसलाई घटाएर १०० प्रतिशतमा कायम गर्नुपर्ने लगानीकर्ताको माग छ । हाल जोखिमभार बढी भएकै कारण यी क्षेत्रमा कर्जा प्रवाह खासै हुन सकेको छैन ।
त्यस्तै राष्ट्र बैंकले नीतिगत दर पनि घटाएको छ । यसकारण पनि अब विस्तारै ब्याजदर घट्दै जाने देखिन्छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स ३ दशमलव ५१ प्रतिशत, फ्लोट इन्डेक्स ३ दशमलव १८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ४ दशमलव ०८ प्रतिशत वृद्धि भएको छ ।
आइतवार कारोबारमा आएका २६६ धितोपत्रको १ करोड २० लाख २ हजार ३०८ कित्ता शेयर ७५ हजार ८६ पटकमा रू. ४ अर्ब ३७ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोत्रपमध्ये दुई धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । किसान लघुवित्त वित्तीय संस्था र चन्द्रागिरी हिल्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आइतवार एनआइबिएल ग्रोथ फण्डको इकाई मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यस फण्डको इकाई मूल्य १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । यससँगै फण्डको इकाई मूल्य रू. ९ दशमलव ३८ मा झरेको छ । त्यस्तै दोस्रोमा ८.५ % नेपाल बैंक डिबेञ्चर २०८७ नाम ऋणपत्रको मूल्य ५ दशमलव ८६ प्रतिशत घटेर रू. ८१८ दशमलव १० मा झरेको छ ।
यस दिन सर्वाधिक शेयर खरीदविक्री शिवम् सिमेन्ट्सको भएको छ । कम्पनीको रू. १४ करोड ८१ लाख बराबरको शेयर खरीदविक्री भएको हो । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६४५ पुगेको छ ।
सर्वाधिक शेयर खरीदविक्री हुनेको सूचीमा दोस्रोमा ज्योति विकास बैंक छ । कम्पनीको रू. १३ करोड ७७ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
यस दिन कारोबारमा आएका सबै समूहगत परिसूचक बढेका छन् । तीमध्ये सबैभन्दा बढी बैंकिङ्ग समूहको परिसूचक ४ दशलमव ९८ प्रतिशत वृद्धि भएको छ । समूहगत परिसूचक सर्वाधिक बढ्नेको सूचीमा दोस्रोमा विकास बैंक समूह छ । उक्त समूहको परिसूचक ४ दशमलव ७८ प्रतिशत वृद्धि भएको छ ।




