विश्व

रुसले भारतलाई कच्चा तेलमा दिने छूट प्रतिब्यारेल ३० डलरबाट ४ डलरमा खुम्चियो

काठमाडौं । रुसले गएको वर्षको शुरुतिर युक्रेनमाथि आक्रमण गरेलगत्तै भारतले भारी मात्रामा रुसी कच्चा तेल किनिरहेको छ । तर, रुसले भारतलाई बेच्ने तेलमा दिने छूट निकै घटेको छ ।

स्रोतका अनुसार रुसले भारतसम्म तेल ल्याउन व्यवस्था मिलाइदिएको कम्पनीहरूको ढुवानी शुल्क अपारदर्शी रहने गरेको अनि सामान्यभन्दा धेरै पनि छ ।

रुसले भारतलाई प्रतिब्यारेल ६० डलरभन्दा कम मूल्यमा कच्चा तेल बेचेको छ । यो पश्चिमी देशहरूले रुसी तेलमा तोकेको मूल्य सीमाभन्दा कम हो । तर, बाल्टिकबाट कृष्ण सागर हुँदै भारतसम्म तेल ल्याउँदा प्रतिब्यारेल डेलिभरी चार्ज भने ११ डलरदेखि १९ डलरसम्म तिराउने गरेको छ । यो सामान्य दरभन्दा दोब्बर भएको स्रोतहरूको भनाइ छ ।

रुसले गएको वर्षको शुरुमा युक्रेनमाथि आक्रमण गरेपछि यूरोपेली क्रेताहरू अनि एशियाका जापानलगायत केही खरीदकर्ताहरूले रुसी तेलमाथि प्रतिबन्ध लगाए । त्यसपछि रुसले पनि भारी छूटमा भारत र चीनलाई तेल बेच्न थाल्यो । गएको वर्षको मध्यसम्म पनि रुसले भारतलाई प्रतिब्यारेल ३० डलर छूट दिने गरेको थियो । तर, पछिल्लो समय ४ डलरमा खुम्चिएको स्रोतले भनेको छ ।

अहिले भारत रुसी तेलको सबैभन्दा ठूलो खरीदकर्ता हो । सवारी साधनहरूको बढ्दो विद्युतीकरण, आर्थिक सुस्तीबीच माग घटेकोले चीनमा रुसी कच्चा तेलको माग उत्कर्षमा पुगेर घट्न थालेको छ । युक्रेनी युद्ध शुरु हुनुअघि भारतको कुल कच्चा तेल आयातमा रुसी तेलको अनुपात २ प्रतिशतभन्दा कम थियो । तर, पछिल्लो समय आयातित तेलमा रुसी तेलको हिस्सा बढेर ४४ प्रतिशतमा उक्लिएको छ ।

भारतीय तेल कम्पनीहरूले छुट्टाछुट्टै रूपमा रुसी कम्पनीसँग मोलमोलाई गरिरहेकोले पनि छूट खुम्चिरहेको बताइएको छ । सरकारी तेल कम्पनीहरूले एक हुल बाँधेर मोलमोलाई गरेको भए छूट धेरै पनि हुन सक्ने स्रोतको भनाइ छ । भारतले रुससँग दैनिक २० लाख ब्यारेल तेल किनिरहेको छ । यीमध्ये ६० प्रतिशत तेल सरकारी तेल कम्पनीहरूले किन्छन् । एजेन्सी

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *