काठमाडौं । भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ बढेर १३ महीनाकै उच्च स्तरमा उक्लिएको छ । बिहीवार प्रतिगोटा बिट्क्वाइनको मूल्य ३१ हजार ५०० डलरमा पुगेको भन्दै अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले खबर छापेको छ । उक्त दिनको कारोबारमा बिट्क्वाइनको भाउ ३ दशमलव २८ प्रतिशतसम्म बढेको थियो ।
क्रिप्टो ट्रेडिङ एक्सचेञ्ज क्वाइन मार्केट क्यापका अनुसार बिट्क्वाइनको बजार पूँजीकरण २ दशमलव २ प्रतिशतले बढेर ६ खर्ब १० अर्ब १२ करोड २७ लाख डलरमाथि पुगेको छ । सन् २०२२ को जुलाई ७ मा बिट्क्वाइनको भाउ २० हजार ५४७ डलर ८१ सेन्टमा किनबेच भएको थियो ।
ब्ल्याक रक लगायत कोष व्यवस्थापकहरूले लगानीको योजना सार्वजनिक गरेपछि हालैका दिनमा बिट्क्वाइनको भाउ बढेको छ । ब्ल्याक रक विश्वको सबैभन्दा ठूलो एसेट म्यानेजर हो । यसले अमेरिकामा सूचीकृत बिट्कवाइन ईटीएफ लञ्च गर्दैछ । एजेन्सी




