अर्थ

बजार पूँजीकरण ३० खर्ब डलर हुने पहिलो कम्पनी बन्यो एप्पल

काठमाडौं । आइफोन निर्माता कम्पनी एप्पल इंकको बजार पूँजीकरण ३० खर्ब डलरमाथि उक्लिएको छ । शुक्रबार बजार बन्द हुँदा कम्पनीको शेयर मूल्य प्रतिकित्ता २ दशमलव ३१ प्रतिशतले बढेर १९३ डलर ९७ सेन्टमा उक्लिएको थियो । योसँगै कारोबार बन्द हुँदा एप्पलको बजार पूँजीकरण ३० खर्ब ५० अर्ब डलर थियो ।

कम्पनी ३० खर्ब डलरभन्दा धेरै बजार पूँजीकरण हुने विश्वको पहिलो सूचिकृत कम्पनी बनेको छ । आइएफोन र ल्यापटप प्रडक्टको विक्री लोभलाग्दो भइरहेकै समयमा लगानीकर्ताहरुमाझ एप्पलको शेयरको माग बढेको छ । जुनको शुरुमा कम्पनीले बजारमा ल्याएको भिजन प्रोले पनि विक्री बढाउने अपेक्षा चुलिएको छ ।

यो वर्ष शुरु भएयता एप्पलको शेयर मूल्य लगभग ५० प्रतिशतले बढेको छ । शुक्रबार न्यूयोर्क स्टक एक्सचेञ्जमा अन्य हाई–टेक कम्पनीको शेयर मूल्य पनि बढेको थियो । सन् २०१८ को अगष्टमा एप्पलको बजार पूँजीकरणले पहिलो पटक १० खर्ब डलर पार गरेको थियो ।

त्यसको ठ्याक्कै २ वर्षपछि अर्थात् सन् २०२० को अगष्टमा बजार पूँजीकरण २० खर्ब डलर माथि उक्लियो । सन् २०२२ को जनवरीमा बजार पूँजीकरण केही क्षणका लागि ३० खर्ब डलर पार गरेको थियो । तर त्यसयता शेयर मूल्य घट्न थालेपछि बजार पूँजीकरण पनि दबाबमा आयो । एजेन्सी

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *