काठमाडौं । आइतबार सेयर बजारमा ढिलो गरी कारोबार भए पनि नेप्सेका सबै परिसूचकमा हरियाली छाएको छ । सेयर लगानीकर्ता र अर्थ मन्त्रालयबीच पूँजीगत लाभकरको विषयमा सहमति जुटेपछि नेप्सेमा उल्लेख्य सुधार आएको छ ।
आइतबार अर्थ मन्त्रालयमा भएको सहमतिअनुसार हाल कायम पूँजीगत लाभकर नै अन्तिम करका रुपमा रहने सम्झौता भएको हो ।दिउँसो सवा २ बजेसम्म नेप्से ५७ अंकले बढेर १९२१ को विन्दुमा अडिएको छ ।
यस अवधिसम्म कारोबारमा आएका कम्पनीमध्ये २१० कम्पनीको सेयर बढेको छ । एक अर्ब ९७ लाख बराबरको ३० लाख ५८ हजार कित्ता सेयर किनबेच भएको छ ।
यसक्रममा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य ३७ रुपैयाँले बढेर प्रतिकित्ता ४०७ रुपैयाँ पुगेको छ ।




