अर्थ

१८ सरकारी निकाय खारेज, दुई गाभिने (सूचीसहित)

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा १८ वटा सरकारी निकाय खारेजी तथा दुईलाई आपसमा गाभ्ने भएको छ ।

अनावश्यक प्रशासनिक खर्च घटाउन भन्दै संघीय सरकार मातहतका ती निकायलाई खारेजी तथा गाभिने बजेटमा उल्लेख छ ।

सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा एकै प्रकृतिका निकाय खारेजी तथा गाभिने उल्लेख छ । सार्वजनिक खर्च पुनरावलोकन आयोग, ०७५ ले दिएका सुझावलाई क्रमशः कार्यान्वयन गरी सरकारको स्थायी संरचनासँग दोहोरो कार्यक्षेत्र परेका, औचित्य समाप्त भएका र परिवर्तित सन्दर्भमा आवश्यक नरहेका संस्था खारेज गरिने बजेट वक्तव्यमा उल्लेख छ ।

सरकारले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर एकीकरण सार्वजनिक प्रसारण संस्था गठन गर्ने घोषणा गरेको छ । यस्तै पर्वतीय प्रशिक्षण विकास समिति र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान पनि गाभिने छन् । दुई संस्था गाभिएपछि नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले उक्त काम गर्नेछ ।

यी हुन् खारेजी हुने कम्पनी :

० कपास विकास समिति

० राष्ट्रिय दुग्ध विकास बोर्ड

० फिलोटेलिक तथा टिकट व्यवस्थापन कार्यालय

० केन्द्रीय धनादेश कार्यालय

० अत्तिरिक्त हुलाक कार्यालय

० बुढीगण्डकी जलविद्युत् आयोजना, वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनःस्थापना इकाई

० महिला तथा बालबालिका विभाग

० नेपाल विश्वविद्यालय पूर्वाधार तयारी विकास समिति

० विभिन्न मेडिकल कलेज पूर्वाधार विकास समिति

० जिल्ला निर्वाचन कार्यालय

० तथ्यांक कार्यालय

० विभिन्न ताल संरक्षण विकास समिति

० भूमिगत जलस्रोत विकास समिति

० जलस्रोत अनुसन्धान तथा विकास केन्द्र

० रेलवे बोर्ड

० कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र विकास समिति

० राष्ट्रिय सूचना प्रविधि केन्द्र

० नेपाल इन्टरमोडेल यातायात विकास समिति

गाभिने संस्था

० रेडियो नेपाल र नेपाल टेलिभिजन

० पर्वतीय प्रशिक्षण विकास समिति र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान

पाँच निकायको पुनःसंरचना

सरकारले आगामी आर्थिक वर्षमा सीमा क्षेत्रमा रहने पाँच निकायको पुनःसंरचना गर्ने भएको छ । अर्थमन्त्री महतले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेट वक्तव्यमा पशु क्वारेन्टाइन कार्यालय, सीमा नाका क्वारेन्टाइन कार्यालय र खाद्य आयात, निर्यात तथा गुणस्तर प्रमाणीकरण कार्यालय गाभेर एउटै कार्यालय बनाइने भएको छ । देशभरका त्यस्ता कार्यालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गत हुनेछन् ।

विशेष आर्थिक क्षेत्र प्राधिकरण र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई गाभेर एउटै संरचना बनाइनेछ । कृषि र पशुसम्बन्धी प्रयोगशाला, फार्म केन्द्र र स्रोत केन्द्र प्रदेश तहमा हस्तान्तरण गरिने पनि बजेट वक्तव्यमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *