काठमाडौं । नेप्सेको ओरालो यात्रा कायमै रहेको छ । साताको दोस्रो कारोबार दिन सोमवार पनि नेप्से परिसूचक शून्य दशमलव ९१ प्रतिशत अर्थात् १६ दशमलव ९३ अंक घटेर १ हजार ८३३ दशमलव ६९ विन्दुमा झरेको छ।
घटेको बजारमा खरीदकर्ता केही सक्रिय भएकोले कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ । शेयर धितो कर्जामा लागू गरिएको १५० प्रतिशतको जोखिम भार घटाएर १०० प्रतिशतमा झार्ने र शेयर धितो कर्जामा १२ करोडको सीमा पनि हटाउनुपर्ने लगानकर्ताको माग रहेको छ । मौद्रिक नीति समीक्षामार्फत यी दुई नीतिगत कुरामा परिवर्तन भएमा शेयर बजारमा सकारात्मक प्रभाव पर्ने जानकारहरू बताउँछन् ।
यस दिन २७० धितोपत्रको २८ लाख १० हजार ६२७ कित्ता २५ हजार ५८८ पटकमा रू. ८२ करोड ४२ लाख बराबर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ८ दशमलव शून्य ५ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य रू. ७९२ पुगेको छ । त्यस्तै दोस्रोमा आत्भनिर्भर लघुवित्तको शेयर मूल्य ६ दशमलव शून्य ८ प्रतिशत बढेर रू. ५७५ दशमलव ७० पुगेको छ ।
सोमवार इष्टर्न हाइड्रोपावर लिमिटेडका शेयरधनीले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत घटेर प्रतिकित्ता रू. ३४८ दशमलव ७० मा पुगेको छ । त्यस्तै दोस्रोमा शिवश्री हाइड्रोपावरको शेयर मूल्य ६ दशमलव ३७ प्रतिशत घटेर रू. १९१ कायम भएको छ ।
यस दिन शिवम् सिमेन्ट्सको सर्वाधिक शेयर खरीदविक्री भएको छ । कम्पनीको रू. ३ करोड ७८ लाख बराबर शेयर कारोबार भएको हो । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा हिमाल दोलखा हाइड्रोपावरको रू. २ करोड २५ लाख बराबर कारोेबार भएको हो ।
कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक घटेका छन् । होटल तथा पर्यटन समूहको परिसूचक सबैभन्दा बढी २ दशमलव ४४ प्रतिशत घटेको छ । त्यस्तै सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६८ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ९४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ७२ प्रतिशत घटेको हो ।




