अर्थ

अष्ट्रेलियाले बढायो ब्याजदर, मौद्रिक नीति थप कसिलो पार्ने संकेत

काठमाडौं । अष्ट्रेलियाको केन्द्रीय बैंकले ब्याजदर (Interest Rate) बढाएको छ । रिजर्भ बैंक अफ अष्ट्रेलिया (Reserve Bank of Australia)ले नगद दर २५ आधार विन्दुले बढाएको छ । यसको साथै बैंकले आगामी दिनमा थप ब्याजदर वृद्धिको पनि ढोका खुला राखेको छ ।

मंगलवार आरबीए (RBA)ले ब्याजदर २५ आधार विन्दुले बढाएर ३ दशलमव ८५ मा पुर्याएको छ । बैंकले ब्याजदर बढाउने अपेक्षा बजारमा कसैले गरेका थिएनन् । अन्तरराष्ट्रिय समाचार संस्था Reuters ले गरेको सर्वेक्षणमा अर्थशास्त्रीहरूले बैंकले ब्याजदर यथावत् राख्ने बताएका थिए । अघिल्लो बैठकमा बैंकले ब्याजदर वृद्धिलाई रोकेको थियो ।

यो खबरसँगै अष्ट्रेलियाली डलर (Australian dollar) मजबूत बनेको थियो । मंगलवार मध्याह्नतिर अमेरिकी डलर (US Dollar) को तुलनामा अष्ट्रेलियाली डलरको भाउ शून्य दशमलव ८४ प्रतिशतले बढेर शून्य दशमलव ६६८७ मा पुगेको थियो । अष्ट्रेलियाली शेयर परिसूचक S&P/ASX 200 शून्य दशमलव ९ प्रतिशतले घटेको थियो । 

अहिले अष्ट्रेलियामा मुद्रास्फीति ७ प्रतिशतमा छ । यो स्तर अति नै धेरै भएको आरबीएले बताएको छ । हालैको तथ्यांकले मुद्रास्फीति (Inflation)मा कमी देखाएको भए पनि महँगी बैंकको लक्षित स्तरमा आउन केही वर्ष राख्ने बताइएको छ ।

यस वर्ष महँगी साढे ४ प्रतिशतमा रहने आरबीएको प्रक्षेपण छ । बैंकले महँगीलाई २ देखि ३ प्रतिशतको बीचमा झार्ने लक्ष्य लिएको छ । अर्थात् महँगीलाई सहज स्तरमा झार्न बैंकसामु ब्याजदर वृद्धिको प्रशस्त ठाउँ छ ।

महँगीलाई उचित समयसीमाभित्र लक्षित स्तरमा ल्याउन बैंकले मौद्रिक नीति थप कसिलो बनाउनु पर्नेछ । तर, यो सबै अर्थतन्त्र र मुद्रास्फीति कसरी अगाडि बढ्छ भन्नेमा भर पर्ने बैंकले एक विज्ञप्तिमा भनेको छ । एजेन्सी

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *