अर्थ

१ डलरमा किनेको टाट पल्टिएको बैंकबाट एकै महीनामा डेढ अर्ब डलर नाफा !

टोकियो । बेलायती बहुराष्ट्रिय बैंक एचएसबीसी को नाफा बढेको छ । अमेरिकाको टाट पल्टिएको क्षेत्रीय स्तरको बैंक सिलिकन भ्याली बैंक को बेलायती शाखा किनेसँगै गएको त्रैमासमा बैंकको नाफा बढेको हो ।

जनवरी–मार्च त्रैमासमा यूरोपको सबैभन्दा ठूलो बैंक एचएसबीसीको करपूर्वको मुनाफा १२ अर्ब ९० करोड डलर रहेको छ । योमध्ये १ अर्ब ५० करोड डलरको नाफा भने एसभी बैंकको बेलायती व्यवसाय किन्दा भएको हो । नाफाको यो आकार बैंकले गएको वर्षको सोही अवधिमा कमाएको नाफा भन्दा तेब्बर बढी हो ।

गत मार्चमा एचएसबीसीले एसभी बैंक यूकेलाई १ डलरमा किनेको थियो । बेलायत सरकार र त्यहाँको केन्द्रीय बैंक ‘बैंक अफ इंगल्यान्ड’ को नेतृत्वमा सो सम्झौता भएको थियो ।

पहिलो त्रैमासको मुनाफामा एसभी बैंक यूके लिमिटेड खरीद गर्दाको डेढ अर्ब डलरको आकस्मिक लाभसमेत समावेश भएको बैंकले बताएको छ ।

बैंक आफ्नो प्रदर्शन निरन्तर सुधार र कसिलो लागत अनुशासन कायम गर्नमा केन्द्रीत भएको एचएसबीसी समूहका प्रमुख कार्यकारी नोअल क्विनले बताएका छन् । फ्रान्सेली व्यवसाय राइट अफ गर्ने योजना उल्ट्याउँदा पनि बैंकलाई लाभ भएको हो ।

गएको त्रैमासमा बैंकले आफ्ना शेयरधनीहरूलाई त्रैमासिक लाभांश दिने घोषणा गरेको छ । यो सन् २०१९ मा कोरोना भाइरसको महामारी शुरु भएयताको पहिलो त्रैमासिक लाभांश हो । यसको साथै बैंकले आफ्नो २ अर्ब डलर बराबरको शेयर पनि पुनः खरिद गर्ने बताइएको छ । क्यानडामा बैंकको व्यवसाय विक्री पूरा हुन ढिला हुने बताइएको छ ।

१० अर्ब डलर बराबरको सो विक्री यो वर्षको अन्त्यमै पूरा हुने अपेक्षा गरिएको थियो । तर, अब सो सम्झौता पूरा हुन आगामी वर्षको शुरुसम्म लाग्ने देखिएको छ । 

अमेरिकामा एसभी बैंक र सिग्नेचर बैंक धराशयी बनेर विश्वको बैंकिङ क्षेत्रमै संकट उत्पन्न भएको बेलामा एचएसबीसीले उत्कृष्ट प्रदर्शन गरेको छ । मार्चमा क्षेत्रीय स्तरका ती दुई अमेरिकी बैंकको पतन भएको थियो ।

यूरोपमा पनि स्वीस बहुराष्ट्रिय बैंक क्रेडिट स्वीस टाट पल्टिएर स्वीस नियामकहरूले घरेलु बैंकिङ समूह यूबीएस (UBS)लाई क्रेडिट स्वीस किन्न बाध्य पारेका थिए । सोमवार मात्रै अमेरिकी नियामकहरूले समस्याग्रस्त अर्को घरेलु बैंक फर्ष्ट रिपब्लिक बैंकलाई आफ्नो नियन्त्रणमा लिएर यसको सम्पत्तिहरू जेपी मोर्गन चेज (JP Morgan Chase) लाई बेचिदिएका थिए ।

सन् २००८ को विश्वव्यापी वित्तीय संकटयता अमेरिकामा सबैभन्दा ठूलो फेलियर साम्य पार्न सो कदम चालिएको थियो । फर्ष्ट रिपब्लिक अमेरिकाको इतिहासमा फेलियर भएको दोस्रो ठूलो बैंक थियो । हालैका महीनामा एचएसबीसीमाथि यसको सबैभन्दा ठूलो शेयर धनी चिनियाँ बीमा जायन्ट पिङ्ग आनबाट दबाब बढेको छ । पिङ आनले एचएसबीसीलाई एशियाली व्यवसायलाई छुट्याउन भनिरहेको छ । एजेन्सी

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *