अर्थ

अमेरिकाको समस्याग्रस्त बैंक किन्दै जेपी मोर्गन

काठमाडौं । अमेरिकी बहुराष्ट्रिय लगानी बैंक जेपी मोर्गन चेज ले त्यहाँको समस्याग्रस्त क्षेत्रीय बैंक फर्स्ट रिपब्लिक बैंक किन्ने भएको छ । नियामकहरूले सो बैंकको नियन्त्रण आफ्नो हातमा लिएका थिए । जेपी मोर्गनले फर्स्ट रिपब्लिकको बीमा नभएको समेत सबै निक्षेप लिइदिने बताइएको छ ।

यसबाहेक पनि बैंकको लगभग सबै सम्पत्ति पनि जेपीकै हातमा जाने क्यालिफोनिर्याको वित्तीय सुरक्षा तथा नवप्रवर्तन विभागले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ । बैंकको वित्तीय उद्धारको कुनै सम्भावना नियामकहरूले नदेखेको अनि निजी क्षेत्रबाट समेत बैंकको उद्धारको प्रयास असफल भएपछि यो कदम चालिएको हो ।

अन्य बैंकहरूले हालैका दिनमा फर्स्ट रिपब्लिकको उद्धारमा पैसा लगाउनै आनाकानी गरेका थिए । केहीले भने बैंक लिलाम भएमात्रै लगानी गर्ने बताएका थिए । बैंकलाई अहिलेको अवस्थाबाट उकास्न ११ ओटा बैंकहरूको समूहले फर्स्ट रिपब्लिकमा मार्चमा मात्रै ३० अर्ब डलर निक्षेप जम्मा गरेका थिए ।

यी बैंकहरूमा जेपी मोर्गन, सिटी ग्रुप, बैंक अफ अमेरिका, वेल्स फार्गो, गोल्ड म्यान श्याख्स र मोर्गन स्ट्यालन्ली समेत थिए । सिलिकन भ्याली बैंक र सिग्नेचर बैंकको अवसानलगत्तै फर्स्ट रिपब्लिक बैंकको संकट बढेको थियो । बैंकमा राखेको पैसा फिर्ता माग्ने निक्षेपकर्ताहरू भिड बैंकमा बढ्न थाल्यो ।

खासगरी बैंकका धनी ग्राहकहरूले  पैसा झिक्न शुरु गरेपछि बैंकको संकटमा फस्यो । फर्स्ट रिपब्लिक किन्नका लागि आइतवार अमेरिकी नियामकहरूले गरेको लिलामीमा अन्तिम बोलकबोल जेपी मोर्गनबाहेक पीएनसी फाइनान्सियल सर्भिसेज ग्रुप र सिटिजन्स फाइनान्सियल ग्रुप इंकले पेश गरेका थिए ।  

गएको हप्ता संघीय निक्षेप बीमा निगम (एफडीआईसी) जेपी मोर्गन र पीएनसी फाइनान्सियल समेतका बैंकहरूलाई आइतवारसम्म अन्तिम बोलकबोल बुझाउन भनेको थियो । शुक्रबार अमेरिकाको बैंकिङ नियामकले बैंकलाई जफ्त गरिदिने अनुमानबीच शुक्रवार न्यूयोर्कमा फर्स्ट रिपब्लिक बैंकको शेयर ५४ प्रतिशतले घटेको थियो ।

यो वर्षको अहिलेसम्मको अवधिमा बैंकको शेयर मूल्य ९७ प्रतिशतले घटेको छ । शुक्रवार बैंकको शेयर प्रतिकित्ता २ डलर ९९ सेन्टको कीर्तिमानी न्यून स्तरमा आएर बन्द भएको थियो । एजेन्सी 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *