काठमाडौं । पछिल्लो समय पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । नेपालमा पाइने रैथाने हात्तीको प्रमुख बासस्थान मानिएको सो निकुञ्ज पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।
पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर सरकारले यसलाई २०७४ सालमा नेपालको १२औँ निकुञ्जका रुपमा घोषणा गरिएको थियो । पर्सासहित बारा र मकवानपुर गरी तीन जिल्लासँग जोडिएको सो निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकका लागि खुला गरिएको छ ।
प्राकृतिक सुन्दरतासँगै वन्यजन्तुको गर्न सकिने जैविक विविधताको धनी मानिएको सो निकुञ्जमा आन्तरिकसँगै छिमेकी मुलुक भारतका पर्यटक आउनेक्रम बढेको निकुञ्ज प्रशासनले जनाएको छ । “विगतको भन्दा अहिले निकुञ्जमा आन्तरिक तथा छिमेकी मुलुक भारतका पर्यटक बढेका छन्”, निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले भने , “बाह्यभन्दा आन्तरिक पर्यटक धेरै आउने गरेका छन् ।”
उनका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनाको अवधिमा एक सय ४० पर्यटक निकुञ्जमा भ्रमण गरेका छन् । निकुञ्ज प्रवेश गर्ने तीन मार्गमध्ये मुख्यद्वार आधाभारबाट ५५ नेपाली र १२ बाह्य गरी ७७ पर्यटक भित्रिएको सूचना अधिकारी खड्काले जानकारी दिए । यस्तै गढुवालाइन प्रवेशद्वारबाट १० नेपाली र प्रतापपुरबाट ४२ नेपाली तथा आठ बाह्य गरी ५० पर्यटक निकुञ्ज घुम्न आएको निकुञ्ज प्रशासनले जनाएको छ ।
गत आव २०७८/७९ मा नेपाली र विदेशी गरी सात सय ७७ पर्यटकले निकुञ्जमा अवलोकन भ्रमण गरेका थिए । सूचना अधिकारी खड्काका अनुसार आव २०७८/७९ मा सात सय ६९ नेपाली र आठ विदेशी पर्यटक निकुञ्ज भित्रिएका थिए ।
सो आवमा वनक्षेत्र, प्रशासनिक, दण्ड जरिवाना, पर्यटकलगायतका शीर्षकबाट रु ८८ लाख ४६ हजार छ सय ७९ राजस्व सङ्कलन भएको जनाएको छ । निकुञ्जभित्र ऐतिहासिक तथा प्राचीन माया मन्दिर, दुग्धेश्वर महादेव मन्दिर जस्ता धार्मिकस्थल छन् भने कामिनी दह, हलखोरिया दह र लौकी दहलगायत प्राकृतिक तथा मनोरम दह पर्यटकका प्रमुख आकर्षणका केन्द्र बनेका छन् । यसका साथै निकुञ्जभित्रको दुर्लभ वन्यजन्तु र चराचुरुङ्गीको बाक्लो उपस्थितिले पर्यटकलाई लोभ्याइ रहन्छ ।
निकुञ्जमा दुर्लभ वन्यजन्तु पाटे बाघ, रैथाने हात्ती, एकसिङ्गे गैँडा, भालु, रतुवा मृग, चित्तल, जरायो, बँदेल, नील गाई, गौरीगाईलगायतका जनावर छन् । विगतमा पानीको मुख्य समस्या देखिएको निकुञ्जभित्र सहज उपलब्धतासँगै पाटे बाघसहितका वनजन्तुको सङ्ख्यासमेत वृद्धि भएको छ । निकुञ्जले हालै गरेको सन् २०२२ को बाघ गणनाअनुसार निकुञ्जमा पाटे बाघको सङ्ख्या ४१ पुगेको छ ।
अहिले निकुञ्जभित्र एक सय ६३ गौरीगाई, ४० देखि ५० हात्ती र आठदेखि १० को सङ्ख्यामा एकसिङ्गे गैँडा रहे पनि तथ्याङ्कमा तीन गैँडा मात्रै उल्लेख भएको निकुञ्जका प्रमुख अशोककुमार रामले जानकारी दिए । निकुञ्जले निर्माण गरेको कृत्रिम पोखरीमा पानीको सहज उपलब्धताका कारण पछिल्लो समय वन्यजन्तुको सङ्ख्या बढेको प्रमुख रामले बताए ।
कूल छ सय २७ दशमलव ३९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको सो निकुञ्जभित्र दुर्लभ पाटे बाघ, भालु, गैँडा, हात्ती, चित्तल, जरायो, चितुवा, जङ्गली कुकुर, नीलगाई र गौरीगाई जस्ता ३७ प्रजातिका स्तनधारी जनावर, चार सय ९० प्रजातिका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतलीको बासस्थान छ ।
निकुञ्ज घुम्न आउने पर्यटकको अवलोकन र घुमफिरका लागि निकुञ्जको जङ्गलभित्र एक दर्जन दृश्यावलोकन स्तम्भसमेत बनाइएको छ । यसैगरी पर्यटकलाई जङ्गल सफारी गर्न निकुञ्जको हात्तीसारमा एक दर्जन हात्ती राखिएका छन् । हात्तीमा जङ्गल सफारी गर्न नचाहने पर्यटकले आफ्नो निजी सवारीसाधनमा जङ्गल सफारी गर्नसक्ने व्यवस्थासमेत मिलाइएको प्रमुख रामको भनाइ छ ।
निकुञ्जभित्र आउने विदेशी पर्यटकका लागि प्रवेश शुल्क प्रतिव्यक्ति रु एक हजार र हात्ती चढेको रु छ सय ५० तोकिएको छ भने नेपाली पर्यटकका लागि प्रतिव्यक्ति प्रवेश शुल्क रु ५० र हात्ती चढेमा रु छ सय ५० तोकिएको छ । निकुञ्जलाई मधेस प्रदेशकै पर्यटकीय गन्तव्य बनाउन निकुञ्ज कार्यालयले पर्यटकका लागि आवश्यक भौतिक पूर्वाधारको निर्माणसँगै निकुञ्जको प्रचारप्रसारलाई समेत प्राथमिकतामा राखेको जनाएको छ ।
निकुञ्जको भ्रमणमा आउने पाहुनाको स्वागतका लागि मध्यवर्ती क्षेत्रमा सुनाखरी मध्यवर्ती सामुदायिक होमस्टेसमेत सञ्चालन गरिएको छ । त्यसले यहाँ आउने पाहुनालाई मिठो आतिथ्यतासँगै स्वादिलो भोजन र गीतसङ्गीतले मनोरञ्जन प्रदान गर्ने गरेको छ ।




