अर्थ

अनुदानबाट व्यवसाय गर्दै अपाङ्गता भएका व्यक्ति

काठमाडौं । अपाङ्गता भएका व्यक्तिलाई व्यावसायिक कार्यमा संलग्न गराई आत्मनिर्भर बनाउनका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले अनुदानका कार्यक्रम सञ्चालन गरेको छ ।

अपाङ्गता भएका व्यक्तिको समूह गठन गरी कार्यालयले अनुदान रकम उपलब्ध गराउन थालेको हो । शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका समूह गठन गरिएका छन् । समूहमा ३० जनाका दरले अपाङ्गता भएका व्यक्ति सङ्गठित भएका छन् । गठन भएका समूहसँग कार्यक्रम सञ्चालनका लागि सम्झौताको कार्य गरिएको छ ।

शुक्लाफाँटा अपाङ्गता कृषक समूहसँग खरी जातका बाख्रा खरिदका लागि सम्झौता गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्राविधिक अधिकृत दीर्घकुमार स्वाँरले बताए । बाख्रापालनका लागि रु चार लाख ५० हजारको सम्झौता गरिएको छ । सम्झौताअनुसार समूहमा आबद्ध सदस्यरुले बाख्रा खरिद गरेका छन् । समूहमा आबद्ध सदस्यमध्ये बाख्रा खरिदका लागि तीन सदस्यीय समिति गठन गरेका छन् ।

खरिद गरिएका बाख्रा दुई वटाका दरले १५ सदस्यलाई उपलब्ध गराइएको छ । समूहमा आबद्ध सदस्य कृष्ण थापाले बाख्रापालन गरी आत्मनिर्भर बन्नका लागि सघाउ पुगेको बताए । अपाङ्गता भएकै कारण समाजको हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको उल्लेख गर्दै समूहका अर्का सदस्य जानकी चौधरीले आर्थिकरुपमा आत्मनिर्भर बन्नका लागि बाख्रापालनमा लागेको बताए । समूहका अध्यक्ष हरिदत्त भट्टले स्थानिय तहले पनि विज्ञ केन्द्रको जस्तै अपाङ्गता भएका व्यक्तिको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

केन्द्रले शुक्लाफाँटामा जस्तै बेदकोट नगरपालिकाका अपाङ्गता भएका व्यक्तिको समूह गठन गरी स्थानीय जातका कुखुरापालनका लागि रु चार लाख ५० हजार अनुदान रकम उपलब्ध गराएको छ । कुखुरापालनका लागि समूहमा आबद्ध सदस्यले खोर निर्माण गरेका छन् । अनुदान रकमबाट दश सदस्यले कुखुरापालन गर्ने समूहका कोषाध्यक्ष प्रेम बोहराले बताए ।

केन्द्रका प्रमुख डा पानसिंह ठगुन्नाका अनुसार गत वर्ष भीमदत्त नगरपालिकामा रहेको स्वावलम्बी अपाङ्गता कृषक समूहलाई स्थानीय जातका कुखुरापालनका लागि रु १० लाख अनुदान उपलब्ध गराइएको थियो । “अपाङ्गता भएका व्यक्ति र आश्रित परिवारको आयस्तरमा बृद्धि गर्नका लागि अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएका छौँ”, कार्यालय प्रमुख ठगुन्नाले भने , “अपाङ्गता भएका व्यक्ति व्यावसायिक भएर आर्थिकरुपमा सवल बने समाजमा हेर्ने दृष्टिकोणमा परिवर्तन आउने अपेक्षा गरेका छौँ ।” समूहमा आबद्ध अपाङ्गता भएका व्यक्तिले गरेको व्यवसायलाई प्रवद्र्धन गर्नका लागि आवश्यक तालिम र प्राविधिक सल्लाह सुझाव दिने गरेको उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *