काठमाडौं । महेन्द्रनगरस्थित खुलामञ्चमा जारी सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा यहाँको मौलिक खाना मकै र कोदाको रोटी आकर्षणका रूपमा रहेको छ ।
बझाङबाट महेन्द्रनगर आएका सरस्वती कृषक महिला समूहले सुदूरपश्चिमको परम्परागत मौलिक खानाका परिकार राखेको छ । मौलिक खानामा पौष्टिक तत्वसमेत पाइने भएकाले महोत्सवमा मकै र कोदाको रोटीको माग बढी रहेको समूहका अध्यक्ष मायादेवी जप्रेलले बताईन । “बझाङको दुर्गाथलीमा हामी २५ जना महिलाको समूहले तरकारी खेती गछौँ”, उनले भनिन , “यसपटक हाम्रो मौलिक खानाको प्रचारप्रसार गर्न बझाङबाट महेन्द्रनगर आएका हौँ ।”
उनले महोत्सवमा बझाङी खानाका परिकार राखिएको बताईन। “कोदो र मकैको रोटीसँग मही र बझाङको डल्ले मूलाको तरकारी दिने गरेका छौँ”, अध्यक्ष जप्रेलले भनिन , “यी खानामा पौष्टिक तत्व पाइन्छ रोग लाग्दैन ।” उनले बझाङको डल्ले मूलाले रतन्धो रोग लाग्नबाट बचाउने बताईन ।
“मकै र कोदाको राटीले रगत बढाउने काम गर्छ”, उनले भनिन , “यी खाना सुगरका बिरामीले पनि खान मिल्छ ।” समूहका सदस्य झुम्कु जप्रेलले बझाङमा समूहमा मिलेर तरकारी खेती गरिरहेको बताईन । “हामी आफ्नै बारीमा विषादीरहित तरकारी फलाउछौँ, मौलिक खानाका परिकार प्रवद्र्धनमा पनि समूह लागेको छ”, उनले भनिन , “तरकारी खेतीबाट एक परिवारले वार्षिक रु दुई\तीन लाखसम्म आम्दानी गर्ने गरेको छ ।”
वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले मेलाको उद्देश्य नै स्थानीय उत्पादन र मौलिक वस्तुको प्रवद्र्धन भएकाले मेलाबाट स्थानीय वस्तुको प्रवद्र्धनमा टेवा पुगेको बताए । “महोत्सवमा हामीले स्थानीय खानाका परिकार, उत्पादनलगायतका वस्तुलाई निःशुल्क व्यापारिक कक्ष उपलब्ध गराएका छौँ”, उनले भने , “कोरोना महामारीका कारण थलिएको व्यवसाय मेलाले चलायमान भएको छ ।” मेलामा लघु उद्यम, अटो प्रदर्शनी, कृषि गारमेन्ट, बाल उद्यानसहित सुदूरपश्चिमको संस्कृति झल्किने साङ्गीतिक कार्यक्रम प्रस्तुत भइरहेको सङ्घले जनाएको छ ।




