समाचार

काष्ठकला उद्योगबाट जीवन धान्दै कपाली दम्पती

काठमाडौं । नेपाली मौलिक घरको झ्याल–ढोका, तोरण र टुँडालमा कला खोप्ने काम परापूर्वकालदेखि सुरु भएको हो । नेपाली कलाको इतिहासमा काष्ठकलाको स्थान महत्वपूर्ण छ । मठ, मन्दिर, घर, सत्तल पाटीलगायत स्थलमा नेपाली काष्ठकलाको नमूना भेट्न सकिन्छ ।

पछिल्लो समय कष्ठकला हराउँदै जान थालेको छ । कास्कीको पोखरामा एउटा परिवार काष्ठकला उद्योगले नै पालिएको छ । पोखरा महानगरपालिका–३ अर्चलबोटका चन्द्रमान कपालीको परिवार यसकै भरमा जीविकोपार्जन गर्दैआएको छ । पोखरा–३ तेर्सापट्टीमा चन्द्रमानको लुभिना उड कार्भिङ काष्ठकला उद्योग छ । उहाँ बिहानदेखि बेलुकासम्म उद्योगमै व्यस्त रहन्छन् उनी । कपालीकी श्रीमती बिनी श्रेष्ठले पनि फुर्सदको समयमा उनलाई साथ दिन्छन् । काठलाई कुँदेर आकार दिँदादिँदै श्रीमान् श्रीमतीको दैनिकी बितिरहेको छ ।

चन्द्रमानले काठसँग साइनो जोडेको २० वर्षभन्दा बढी भयो । विसं २०६१ मा पोखरा आएर व्यावसयिकरूपमा लागेका कपाली अहिलेसम्म यही पेसामा व्यस्त रहेका छन् । उनले काठको काम सानैदेखि सिकेका हुन् । पुख्र्यौली थलोमा सबैले काठमा बुट्टा भर्ने काम गर्ने गरेको उनले सम्झिए । “ललितपुर बुङ्मतीमा धेरैले काठको काम गर्छन् । मैले पनि बाजुबाजेले गरेको हेरेरै सिकेको हुँ”, कपालीले भने , “विसं २०६१ मा पोखरा आएँ, त्यसपछि मेरो कमाइखाने माध्यम नै यही बनेको छ ।”

पोखरामा काम थालेको केही वर्षपछि उहाँ काठको काम गर्न मुस्ताङ पुगे । मुस्ताङमा केही वर्ष काम गरेर फर्केपछि कपालीले पोखरामा लुनिभा उड कार्भिङ सञ्चालन गरिरहेका छन् । उनलाई तन्नेरी उमेरमा साथीहरू विदेश जाँदा पनि कहिल्यै विदेशिने सोच आएन । “सानैदेखि यही कामले मन तान्यो । हातमा सीप भएपछि आम्दानी पनि राम्रै भयो”, उनले भने , “साथीहरू कोही–कोही विदेश गए । मलाई त कहिल्यै जामजाम जस्तो लागेन ।”

अहिले कपालीको परिवारको खर्च काष्ठकलाले धानेको छ । “म यो कामबाट सन्तुष्ट छु । यो कामले सबैथोक दिएको छ”, उनले भने , “यसबाट भएको आम्दानीले खान पुगेको छ ।” काष्ठकलाको आम्दानीले उहाँले पोखरामा घर किनिसकेका छन् । श्रीमतीको साथले उद्योग चलाउन सहज भएको उनी बताउँछन् ।

कामदारलाई दिनुपर्ने पैसा जोगिएको कपालीकी श्रीमती बिनीले बताइन । छोराछोरीलाई विद्यालय पठाएपछि बचेको समय काममा सघाउने गरेको उहाँले बताउनुभयो । “श्रीमान्ले थालेको कामबाट सन्तुष्ट छु”, उनले भनिन्

उद्योगको कलात्ममक सामान गण्डकी प्रदेशभरसँगै अन्य जिल्लामा पनि पुगेको छ । मागका आधारमा सबैका लागि सबै स्थानमा काठका सामग्री पु¥याएको कपालीले सुनाए । उनले बढी मात्रामा झ्यालढोकामा कला भरेका छन् । “मन्दिर, होटल, पुराना सांस्कृतिक सम्पदा बनाउँदा उपभोक्ता आउँछन् अनि पैसा भएकाले कलात्मक झ्यालढोका प्रयोग गर्छन् ।”

कपालीको उद्योगमा झ्यालढोका बाहेक कलात्मक काठका मायाको चिनोलगायत सामग्री पाइन्छन् । कलात्मक काठको मूल्य रु एक हजारदेखि रु पाँच लाखसम्म पर्छ । यही पेसाबाट सबै खर्च कटाएर मासिक रु ३५ हजारसम्म बचत हुने गरेको उनको भनाइ रहेको छ । पछिल्लो समय काठको कलात्मक काम लोप हुँदै गएकामा कपाली चिन्ता व्यक्त गरेका छन् । आधुनिक जमानामा मेसिनबाट बुट्टा भर्ने काम हुने भए पनि हातले बनाएको जस्तो राम्रो नहुने कपालीको तर्क छ ।

“हातले नै कुँदेर यसरी सामान बनाउने काम विस्तारै हराउँदै जान थालेको छ”, उनले भने , “मैले त कलात्मक काम गर्छु । यस्तै कामबाट बन्ने ठेका, ठेकी, मदानी, मादलजस्ता काम लोप हुँदै जान लागेको छ । यसलाई बनाउनु जरुरी छ ।” कलात्मक काष्ठ उद्योगको काम सिक्न खोज्नेलाई आफूले जानेको सिकाउन तयार रहेको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *