काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले जुनसुकै सरकार गठन भए पनि समृद्ध नेपाल बनाउन सकिएन भने त्यो सरकारको कुनै अर्थ नरहने बताएको छ ।
युनाइटेड क्लबद्वारा पोखराको अमरसिंह चौरमा आयोजित ११ औँ संस्करणको महोत्सवको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले त्यस्तो कुरा बताउनुभएको हो । आम नेपालीको चाहना समृद्ध नेपाल भएकाले अबको सरकार समृद्धितर्फ अगाडि बढ्न जरुरी भएको उनको भनाइ छ ।
रोजगारीको अवसर खोज्दै लाखौँ युवा विदेशिने गरेको भन्दै उनले उनीहरूलाई जोजगारीको सिर्जना नेपालभित्र नै गर्नेतर्फ तीनै तहको सरकार लाग्नुपर्नेमा जोड दिए । सरकारले आफ्ना कार्यक्रम बनाउँदा युवा लक्षित हुनुपर्ने भनाइ उनको । नेपाल बहुजाति, बहुभाषी र बहुसांस्कृतिक देश भएकाले यहाँ हुने महोत्सवले सांस्कृतिकरूपमा ठूलो महत्त्व राख्ने बताउँदै मुख्यमन्त्री अधिकारीले महोत्सवको सफलताको कामना गरे ।
कोरोनाले थला परेको अर्थतन्त्र यस्ता मेला महोत्सव सञ्चालन हुँदा केही मात्रामा भए पनि अर्थतन्त्र चलायमान हुने विश्वास उनले भने । “आज राष्ट्रिय एकता दिवस, पृथ्वीनारायण शाहले राष्ट्रलाई एक बनाएको दिन, सरकारले पनि सार्वजनिक बिदा दिएको छ”, मुख्यमन्त्री अधिकारीले भने , “राष्ट्रनायक पृथ्वीनारायण शाहलाई सबैले सम्झनुपर्ने बताए ।”
आजदेखि सञ्चालन हुने उक्त महोत्सव माघ ८ गतेसम्म सञ्चालन हुनेछ । युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न व्यक्तिले आफ्ना भनाइ राख्नुभएको थियो । महोत्सवको उद्घाटनअघि यस क्षेत्रका विभिन्न सङ्घसंस्था तथा टोल तथा आमा समूहले झाँकीसहित बजार परिक्रम गरेका थिए ।




