काठमाडौं । पटकपटक गरी भएको इन्धनको मूल्य वृद्धि सँगसँगै दैनिक उपभोग्य वस्तुको समेत मूल्य वृद्धि हुँदै गएपछि सर्वसाधारण आम उपभोक्ताको जनजीवन कष्टकर बन्दै गएको छ ।
आइतबार राति १२ बजेबाट लागु हुने गरी नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २१ रुपियाँ तथा डिजेल(मट्टीतेलमा २७ रुपियाँ बढाएको थियो । हाल पेट्रोल प्रतिलिटर १ सय ९९ रुपियाँ र डिजेल(मट्टीतेल प्रतिलिटर १ सय ९२ रुपियाँ कायम भएको छ । डिजेलको मूल्य २७ प्रतिशत बढेका छ । इन्धन महँगोे भएसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि उच्च दरले बढेको छ ।
इन्धनको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत् भाडा परिवर्तन हुने व्यवस्थाअनुरूप यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुवाहक तथा मालवाहक यातायातमा भाडा बढाएको हो । विभागले अधिकतम ७ दशमलव ७ प्रतिशतसम्म भाडा बढाएको छ । अन्तरप्रदेश सार्वजनिक यात्रुवाहक सवारीसाधनमा ५ दशमलव ३० प्रतिशतले भाडा बढेको छ । त्यस्तै पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा ६ दशमलव ९४ तथा तराईमा चल्ने मालवाहक सवारीसाधनमा ७ दशमलव ७ प्रतिशत भाडा बढेको छ । मृल्यवृद्धिसँगै भाडा समायोजन गरिएको विभागले जनाएको छ । स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत् रहनेछ ।
इन्धनको मूल्य यही गतिमा वृद्धि भए प्रत्यक्ष असर सर्वसाधारणमा देखिन शुरू भइसकेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताउनुभयो । इन्धनको मूल्यवृद्धिको असर खाद्य सामग्रीदेखि कलकारखाना सबै ठाउँमा पर्ने पनि उहाँको भनाइ रहेको छ ।पेट्रोलियम पदार्थ कुनै न कुनै रूपमा कल कारखानामा कच्चा पदार्थका रूपमा प्रयोग हुने गरेको छ । त्यसैले उद्योग व्यवसायको मूल्य बढ्ने बताउँदै अध्यक्ष महर्जनले भन्नुभयो– ‘यस्तै सामान ढुवानीको खर्च बढ्छ र त्यसले खाद्यान्नदेखि दैनिक प्रयोग हुने वस्तुको मूल्य बढ्छ ।’
आजको नेपाल समाचारपत्रमा खबर छ ।




