अर्थ

अदुवाले मूल्य नपाएपछि किसान चिन्तित

तनहुँ । जिल्लाको घिरिङ गाउँपालिका–२ चिन्नेखोला निवासी दुलबहादुर थापा शारीरिकरुपले कमजोर छन् । जन्मिएपछि करिब पाँच छ वर्षको उमेरदेखि उनका हात खुट्टा राम्रोसँग चल्न सक्दैनन् ।

शारीरिक अपाङ्गता भए पनि सपाङ्गभन्दा कमी हुँदै भन्ने आत्मबलका साथ गत वर्षदेखि अदुवाखेतीमा थापा क्रियाशील छन् ।

गण्डकी प्रदेशको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिको लागि अधिकार विकासको लागि स्रोत केन्द्र (रिसेड) मार्फत रु पाँच हजार अनुदान पाएपछि थापाले अदुवाखेती गरेका छन् ।

करिब चार रोपनी क्षेत्रफलमा अदुवा लगाउँदा झण्डै ४०० क्विन्टल अदुवा उत्पादन भएको किसान थापा बताउछन् ।

वैशाखमा करिब ३०० किलोग्राम बीउ अदुवा लगाएर पुसमा खन्दा उक्त परिमाणमा अदुवा उत्पादन भएको उनले बताए ।

दुई महिना अदुवा खन्नैमा बितेको उनको भनाइ छ । “तर अदुवा अत्यन्तै न्यून मूल्यमा बिक्री गर्नुपर्ने अवस्था आएपछि चिन्ता थपिएको छ ।” अदुवा उत्पादन भएअनुरुप बजार मूल्य भैदिएको भए राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ । अदुवा प्रतिकिलो तीसमा बिक्री गर्नुपर्ने बाध्यता आएपछि त्यस क्षेत्रका करिब १५ घरका अदुवा किसान मर्कामा परेका छन् ।

सस्तो मूल्यमा बिक्री गर्नुपर्ने अवस्था आएपछि त्यस क्षेत्रका किसान यतिबेला सुठो बनाउन व्यस्त छन् । थापाले उक्त गाउँमा अदुवाखेती गर्न थालेपछि सो क्षेत्रका अन्य मानिस पनि सो खेतीतर्फ आकर्षित भएका थिए ।

त्यस क्षेत्रका करिब १५ घरधुरी कम्तीमा ३०० देखि ९०० किलोग्रामसम्म अदुवा उत्पादन गर्दै आएका छन् ।

सुठो बनाइएपछि लामो समयसम्म नबिग्रने र मूल्य राम्रै पाउने भएपछि उनीहरु अदुवा बिक्री गर्नुको साटो सुठो बनाउन व्यस्त हुन्छन् ।

सोही वडा निवासी नन्दवीर थापाले करिब दुई रोपनीमा अदुवा लगाउँदा झण्डै ९०० किलोग्राम अदुवा उत्पादन भए पनि बिक्री गर्न नसक्दा चिन्तित भएको दुखेसो पोखे ।

सुठो बनाउने आफ्नै तरिका छ । तलबाट काँचो दाउरा सल्काएर धुँवाको ताप दिएर अदुवालाई सुकाइन्छ । कम्तीमा एक हप्तासम्म निरन्तर अदुवालाई फर्काइफर्काइ सुकाइन्छ ।

यसरी सुकाइएको अदुवा हातले मुठी पार्दा डल्लो भयो भने सुठोको लागि लायक हुने किसान बताउँछन् ।

यसरी बनाइएको सुठोको मूल्य प्रतिकिलो रु ३०० सम्म पर्छ । एक वर्ष अदुवा लगाएको क्षेत्रमा अर्को वर्ष पनि अदुवा लगाउन नहुने अर्का किसान लालसिं राना बताउछन् ।

एउटै जग्गामा लगातार अदुवाखेती गरिए किराको प्रकोप बढ्ने र उत्पादन नराम्रो हुने भएकाले एक वर्षको फरकमा अदुवाखेती गर्दा उत्तम हुने उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *