अर्थ

खोटेहाङमा मौज्दात बजेट २ करोड ८५ लाख विनियोजन

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकाले गत आर्थिक वर्षको मौज्दात बजेट विभिन्न योजनाका लागि विनियोजन गरेको छ । दशौँ गाउँसभामार्फत गाउँपालिकाले कतिपय पूर्वनिर्धारित तथा कतिपय नयाँ योजनाका लागि मौज्दात बजेट २ करोड ८५ लाख विनियोजन गरेको हो ।

संशोधित वजेट तथा कार्यक्रममा मौज्दातबाट सञ्चालन हुनेगरी पुँजीगत योजनातर्फ आधारभूत अस्पताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार, केन्द्रीय विद्युतीकरण (खोटेहाङ गाउँपालिका–१, २ र ३), सडक गुरुयोजना निर्माण, एम्बुलेन्स खरिद, साना सिंचाइलगायतका समपुरक योजनाका लागि १ करोड ७६ लाख ८८ हजार विनियोजन गरिएको छ । यसमध्ये अस्पतालको डिपिआर तयार पार्ने योजना नयाँ हो । विद्युतीकरणका लागि ४० लाख विनियोजन गरिएकामा गाउँसभामार्फत् एक करोड पुर्‍याइएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए ।

यस्तै, गाउँपालिकाको वृत्तचित्र निर्माण, कक्षा ६ को स्थानीय पाठ्याक्रम निर्माण, पाँच वर्षको प्रमुख उपलब्धि प्रकाशन, बालविकास केन्द्र तथा विद्यालय कर्मचारीको तलब भत्ता वृद्धि, विपद व्यवस्थान कोष, औषधि खरिदलगायतका कार्यक्रमका लागि एकमुष्ट १ करोड ८ लाख १२ हजार विनियोजन गरिएको छ । यसमध्ये साविकको विपद व्यवस्थान कोष र औषधि खरिद शीर्षकमा गाउँसभामार्फत् बजेट थप गरिएको गाउँपालिकाले विज्ञाप्तिमार्फत् जानकारी दिएको छ ।

गाउँसभाले गाउँपालिकाको लिखत प्रमाणीकरण कार्यविधि विधेयक, चालु आर्थिक वर्ष २०७८/७९ को संशोधित विनियोजन विधेयक, न्यायिक समितिले उजुरीको किनारा गर्दा अपनाउनुपर्ने कार्यविधि सम्वन्धमा बनेको विद्येयक, न्यायिक समितिको प्रतिवेदन, आन्तरिक लेखा परीक्षण प्रतिबेदन छलफल गर्दै पारित गरिएको छ । यस्तै, आर्थिक वर्ष २०७७/७८ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा)मा गाउँपालिकाले प्राप्त गरेको अंक ६३.५ सम्बन्धी जानकारी र महालेखा परीक्षण २०७७/७८ को प्रारम्भिक प्रतिवेदनबाट औंल्याइएका बेरुजुको फछ्र्यौटसम्बन्धी छलफल गर्दै पारित गरिएको विज्ञाप्तिमा जनाइएको छ ।

गाउँसभा उपाध्यक्ष कविता राईले प्रस्तुत गरेको चालु आर्थिक वर्ष विनियोजित कुल ५५ करोड ११ लाख ५२ हजार बराबरको योजनाको प्रगति समीक्षा गर्दै पारित गरिएको जनाइएको छ । गाउँसभा २९ फागुन र ३० फागुनमा सम्पन्न भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *