एजेन्सी । पश्चिमा देशहरूले रुसको तेल उत्पादनमाथि प्रतिबन्ध लगाए तेलको मूल्यमा व्यापक वृद्धि हुने मस्कोले चेतावनी दिएको छ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारल तेलको मूल्य तीन सय डलरसम्म पुग्न सक्ने रुसले चेतावनी दिएको हो ।
प्रतिबन्ध लगाउने कदमले विश्वका लागि विध्वंसात्मक परिणाम निम्त्याउने रुसी उपप्रधानमन्त्री एलेक्सान्डर नोभाकले बताए।
रुसी ऊर्जामाथि रहेको निर्भरता घटाउन अमेरिका र युरोपेली देशहरूले दिएको दबाव रुसी कम्पनीहरूले महसुस गर्न थालिसकेको उनले उल्लेख गरे।
रुस–युक्रेन द्वन्द्वका कारण ऊर्जाको बढ्दो मूल्यले विश्वभरि आर्थिक वृद्धि घटाउने र महँगी बढाउने चिन्ताबीच अन्तर्राष्ट्रिय शेयर बजारहरूमा गिरावट आएको छ।
साउदी अरबपछि रुस विश्वको सबैभन्दा दोस्रो ठूलो कच्चा तेल उत्पादक मुलुक हो।
रुस एक्लैले युरोपेली मागको एक तिहाइ तेल आपूर्ति गर्दै आएको छ ।
यसअघि सोमवार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेर सन् २००८ यताकै सबैभन्दा उच्च भएको थियो।
एशियाली बजारमा कच्चा तेलको बेन्चमार्क ‘ब्रेन्ट क्रूड’ बढेर १३९ डलर प्रतिब्यारल नाघेको थियो।
तर पछि १३० डलरभन्दा कममा आइपुग्यो। एक ब्यारलमा झन्डै १५९ लिटर हुन्छ।
रुसले युक्रेनमा आक्रमण गरेपछि आपूर्तिमा अवरोध सिर्जना हुने भयले इन्धन बजार प्रभावित भएको छ।
पेट्रोलियम पदार्थको खुद्रा मूल्य बढेकाले उपभोक्ताहरू पनि प्रत्यक्ष प्रभावित भएका छन्।
साउदी अरबलाई तेल उत्पादन बढाउन आग्रह गर्न अमेरिकी राष्ट्रपति चाँडै रियाद भ्रमणमा जाने विषयमा अमेरिकी सरकारले विचार गरिरहेको विवरण आएको छ।
अमेरिकी समाचारसंस्था एक्जिअसका अनुसार तेलबारे कुरा गर्न जो बाइडनले वसन्तयाममा साउदी अरबको भ्रमण गर्न सक्छन्।
रुसले युक्रेनमाथि आक्रमण गरेपछि विश्वभरि उत्पन्न ऊर्जा सङ्कट समाधान गर्न अमेरिकाले सङ्घर्ष गरिरहेको छ।
अमेरिका र भेनेजुएलाका अधिकारीहरूबीच पनि तेलमा लागेको प्रतिबन्ध खुकुलो बनाउने विषयमा छलफल भएको बताइएको छ।
अमेरिकाले हाल आयात गर्ने कच्चा तेल र पेट्रोलियम पदार्थमध्ये झन्डै १० प्रतिशत रुसबाट आयात हुने बिबिसीले जनाएको छ ।




