काठमाडौं । साताको अन्तिम बिहीबार नेप्से सूचकमा सामान्य गिरावट आएको छ । आज करिब २ अंकले घटेको बजारमा कारोबार रकम समेत घटेर २ अर्बमा खुम्चिन पुगेको छ ।
नेप्सेकाअनुसार यस दिन ४० लाख १७ हजार कित्ता सेयर बजारमा ३४ हजार भन्दा बढी पटक किनबेच हुँदा जम्मा २ अर्ब २७ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन झण्डै २० अंकले घटेर २७ सय ३४ अंकमा झरेको बजारमा बिहीबार थप १.९३ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १।९३ अंकले घटेर २७ सय ३२.५२ अंकमा झरेको छ । यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स भने आज स्थिर रहेको छ ।
अघिल्लो दिन यस्तो कारोबार १९ अंक माथिले घटेको बजारमा ३ अर्ब २ करोड ६३ लाख रुपैयाँको भएको थियो । आज ट्रेडिङ, हाइड्रोपावर, म्यानु एण्ड प्रो, अन्य र म्युचुअल फन्ड बाहेक अन्य उपसूचक ऋणात्मक भएका छन् ।




