काठमाडौं । नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) साताको चौथो बुधबारको कारोबारमा पुनः गिरावट आएको छ । मंगलबारको कारोबारमा ५३ अंकले बढेको शेयर बजार आज भने ओरालो यात्रामा लागेको हो ।
बुधबार २७ सय ५४ दशमलव २८ अंकबाट सुरु भएको परिसूचक बिन्दु बजार बन्द हुने बेला २७सय ३४ दशमलव ४४ अंकमा ओर्लिएको छ । अर्थात आज बजार परिसूचक बिन्दु १९ दशमलव ८४ अंकले ओरालो लागेको छ । आजको कारोबारमा शेयर बजार परिसूचक ० दशमलव ७२ प्रतिशतले घटेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ३ दशमलव ४७ अंक अर्थात ० दशमलव ६७ प्रतिशतले घटेर ५ सय १८ दशमलव ६६ अंकमा ओर्लिएको छ ।
नेप्सेमा आज कारोबार रकममा पनि कमी आएको छ । आज २ सय ३१ कम्पनीको ३ अर्ब २६ करोड ३ लाख ३० हजार ७ सय ८४ रूपैयाँ बराबरको ५६ लाख ५२ हजार १ सय ८२ कित्ता शेयर ३९ हजार ६ सय ६८ पटक खरिद बिक्री भएको छ । आज कारोबार भएका कम्पनीहरूमध्ये ३२ कम्पनीको शेयर मूल्य बढेको छ भने १ सय ५४ कम्पनीको सेयर मूल्य घटेको छ । गुराँस लघुवित्त वित्तिय संस्था, ज्योती लाइफ इन्सोरेन्स, एनआइसी एसिया ब्यालेन्स फण्ड, युनाइटेड इन्सोरेन्स,सगरमाथा इन्सोरेन्स सर्वाधिक कारोबार गर्ने पाँच कम्पनी रहेका छन् ।
समूहगत परिसूचकतर्फ जीवन बीमा समूह ० दशमलव ११ प्रतिशत, तथा अन्य समूह ० दशमलव ४४ बढेका छन् भने बाँकी ११ परिसूचकहरू घटेका छन्। आज जलविद्युत क्षेत्रका लगानीकर्ताले सबैभन्दा बढी गुमाउन पुगेका छन् । जलविद्युत समूह २ दशमलव १८ प्रतिशतले घटेको थियो । विकास बैंक समूह १ दशमलव ८४ प्रतिशतले, फाइनान्स समूह १ दशमलव ८१ प्रतिशतले तथा लगानी समूह १ दशमलव ६८ प्रतिशतले घटेको छन् ।
यस्तै, आज कारोबारमा गिरावट आएका पाँच कम्पनीमा बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी, मैलुङ खोला जलविद्युत कम्पनी, सिंगटी हाइड्रो इनर्जी कम्पनी, सिइडीबी हाइड्रोपावर डेभलोमेन्ट कम्पनी तथा शिभ श्री हाइड्रो पावर कम्पनी रहेका छन् ।




