अर्थ

१० करोड रुपैयाँ ब्याजमा नेपाल राष्ट्र बैंकले लगानी गर्ने

संकल्पखबर । नेपाल राष्ट्र बैंकले झण्डै साढे १० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ।

शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई उल्लेखित निक्षेपका लागि दरखास्त हाल्न आह्वान गरेको छ ।

बैंकले आफ्नो विभिन्न कोषमा रहेको १० करोड ४८ लाख रुपैयाँ एक वर्षका लागि निक्षेपको रुपमा बैंक तथा वित्तीय संस्थाहरुमा राख्न चाहेको हो ।

सूचना अनुसार बैंकले ब्याजमा लगानी गर्ने कुल १० करोड ४८ लाख मध्ये ८ करोड ३९ लाख रुपैयाँ वाणिज्य बैंकहरुले पाउनेछन् भने १ करोड ५७ लाख रुपैयाँ विकास बैंक र ५२ लाख रुपैयाँ वित्त कम्पनीहरुले पाउने छन् ।

उक्त निक्षेप २०७८ फागुन २ गतेदेखि आगामी वर्ष २०७९ फागुन १ गतेसम्म बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ ।

तर, यस निक्षेपका लागि इच्छुक बैंक तथा वित्त कम्पनीले तोकिएको न्यूनतम पुँजीकोष कायम गरेको हुनुपर्ने र निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम भएको हुनुपर्ने सर्त राखेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *