समाचार

बाल विवाहविरुद्ध आवाज उठाउन लुम्बिनीका किशोरीहरू

रुपन्देही । रुपन्देहीको गैडहवाकी अञ्जना रिजालको दैनिकी आजभोलि फेरिएको छ । किशोरी क्लबमा आबद्ध भएपछि समुदायमा बालविवाहविरुद्ध आवाज उठाउने र सचेतना फैलाउने काममा उनि सक्रिय छन् । आफ्ना पालिकामा कतै बालविवाह हुँदैछ भन्ने सुइँको पाउनासाथ रिजाल जस्तै क्लबका अन्य किशोरीहरू जम्मा भएर विवाह रोक्न लागिपर्छन् ।

“समुदायमा कसैको विवाह हुन लागेको थाहा पाए हामी निगरानी गर्छाँै । यदि कम उमेरमा विवाह हुन लागेमा तुरुन्तै प्रहरी या सम्बन्धित निकायमा खबर गरेर भएर पनि रोक्छौँ”, रिजाल भनिन् । कानुनीरूपमा बन्देज लगाउँदा पनि समुदायमा यो क्रम नरोकिएपछि गैडहवाका किशोरीले सञ्जाल नै गठन गरेर यसरी सचेतनामूलक कार्यक्रम चलाउने गरेका छन् । उनीहरूले गाउँपालिकासँग समन्वय गरेर बालिकालाई अनिवार्य शिक्षा, किशोरकिशोरी संवाद, किशोरावस्थामा हुने परिवर्तन, बावविवाहविरुद्ध सडक नाटक जस्ता कार्यक्रम सञ्चालन गरेका छन् । साथै बालविवाह न्यूनीकरणका लागि दाजुभाइले आफू पनि बालविवाह नगर्ने र दिदीबहिनीको पनि गर्न नदिने वचन दिँदै हरेक वर्ष रक्षाबन्धनमा ‘राखी पे मेरा प्रतिज्ञा’ कार्यक्रम गर्दै आएका छन् ।

रुकुमको सिस्ने गाउँपालिका –६ की निष्ठा हमाल पनि बालविवाहविरुद्ध सक्रिय भएर लागेका छन् । स्थानीय रुक्मिणी माविमा कक्षा १० मा अध्ययनरत हमालसहित सञ्जालमा आबद्ध किशोरीले बालविवाहविरुद्ध जनचेतना जगाउन थालेका छन् । उनीहरूका सक्रियतामा बालविवाह नियन्त्रणका लागि ‘साथी शिक्षक कार्यक्रम’ सञ्चालन, सडक नाटक प्रदर्शन र विद्यालयमा किशोरकिशोरीमैत्री सूचना केन्द्र स्थापना गरिएको छ । “बीस वर्षमुनि विवाहबारे हाम्रो निगरानीले बालिका, किशोरी र अभिभावक पनि सचेत भएका छन्”, हमाल भने ।

बर्दियाका किशोरीले पनि ११ सदस्यीय सञ्जाल गठन गरेर बालविवाहविरुद्ध अभियान चलाएका छन् । समाजमा रुढिवादी परम्परा कायम रहेकाले बालविवाह बढेको निष्कर्षमा पुगेका किशोरीले समयसमयमा घरदैलो अभियान चलाउने गरेको गुलरिया नगरपालिका –८ की अल्पिया अन्सारी बताइन् । “छोरीलाई छिटो विवाह गर्दा राम्रो हुन्छ भन्ने गलत मान्यताले गर्दा यहाँ मुस्लिम समुदायमा बालविवाह बढी छ, यो भ्रम हटाउन सचेतनामूलक कार्यक्रम सञ्चालन गर्छौँ”, अन्सारी भने ।

यस्तै दाङका किशोरी पनि नगरस्तरीय सञ्जाल गठन गरी बालविवाह नियन्त्रणमा लागेका छन् । कानुनले विवाहको उमेर २० वर्ष तय गरे पनि जिल्लामा बालविवाह बढी हुने गरेकाले सञ्जाल नै गठन गरेर अभियान चलाउन थालिएको सञ्जालका कोषाध्यक्ष रेजिना मियाँ बताए । “यहाँ बालविवाह धेरै हुन्छ । आर्थिक स्थिति कमजोर भएका परिवारमा यो बढी छ”, मियाँ भने, “हामीले पछिल्लो एक वर्षमा मात्रै करिब ७० बालविवाह रोक्यौँ ।”

बाँकेमा सुनौलो किशोरी सञ्जाल गठन बनाएर बालविवाहविरुद्ध किशोरीले अभियान चलाएका छन् । स्थानीय पालिका, प्रहरी र सामाजिक सङ्घसस्थासँग समन्वय गरेर अभियान चलाउने गरिएको सञ्जालका अध्यक्ष नेलिसा गिरी बताए । किशोरी सञ्जालको सक्रियताले बालविवाहमा केही कमी आएको जिकिर किशोरीहरूको छ । स्थानीय पालिका र गैरसरकारी संस्थाका सहयोगमा सञ्जालले चलाएको अभियानले बालविवाहका घटनामा केही कमी आएको कपिलवस्तुकी गुञ्जा थारू भने । पछिल्लो समय भने किशोरकिशोरीबीचको प्रेम सम्बन्धका कारण बालविवाह नियन्त्रणमा चुनौती थपिएको उनको भनाइ छ । “किशोरकिशोरीहरूले स्वेच्छाले उमेर नपुग्दै विवाह गर्दा बालविवाह नियन्त्रणमा समस्या थपिएको छ”, थारू भने । मधेसी समुदायमा दाइजो प्रथाका कारण पनि छोरीलाई कम उमेरमा बिहे गरिदिने प्रचलन रहेको उनको भनाइ छ ।

बालविवाहविरुद्ध लुम्बिनी प्रदेशका सबै जिल्लामा किशोरीहरू सङ्गठित छन् । कानुनी रुपमा बन्देज लगाउँदा पनि बालविवाह नरोकिएपछि उनीहरूले सञ्जाल बनाएरै समुदायमा सचेतना फैलाउन थालेका छन् । समुदायमा बालविवाहविरुद्ध किशोरीहरू निगरानीसमेत गर्छन् । यसो गर्दा बालविवाहमा कमी आएको अधिकारकर्मी बताउँछन् । लुम्बिनीका पहाडी जिल्लाका तुलनामा तराईका जिल्लामा बालविवाह बढी छ ।

नेपालको संविधानले बालविवाहविरुद्धको अधिकारलाई मौलिक हकका रुपमा स्थापित गरेको छ । यसैगरी नेपालसमेत पक्ष भएका विभिन्न अन्तरराष्ट्रिय सन्धिहरूले बालविवाहविरुद्धको अधिकारलाई मानवाधिकारका रुपमा अँगीकार गरेका छन् । यसबाहेक नेपालको राष्ट्रिय कानुन तथा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तहरूले पनि यसलाई बालबालिकाको मानवाधिकारको अवधारणाका रुपमा प्रत्याभूत गरेका छन् । सामान्य अर्थमा ‘बालविवाह’ भन्नाले कानुनले तोकेको उमेर नपुगी वा बाल्यावस्थामा गरिने विवाह हो । विभिन्न देशका कानुनले आआफ्ना राष्ट्रिय परिप्रेक्ष्यानुसार विवाह गर्ने उमेर तोकेको हुन्छ । नेपालका सन्दर्भमा एक वा दुवै जनाको उमेर २० वर्षमुनि भएमा त्यो बालविवाह हुन्छ । वि.सं २०६८ को जनगणनानुसार नेपालमा विवाहित महिलामध्ये ७५ प्रतिशत २० वर्ष उमेरमुनिका छन् ।

प्रदेशमा बालविवाहको क्रम नरोकिए पनि प्रहरीमा भने उजुरी निकै कम छ । एकदुई घटना प्रहरीमा दर्ता भए पनि बालविवाहका उजुरी धेरै नआउने गरेको प्रदेश प्रहरी प्रवक्ता जनकबहादुर शाही बताए । प्रदेश प्रहरीका अनुसार आर्थिक वर्ष २०७४ देखि ०७८ पुससम्म बालविवाहसम्बन्धी ६० मुद्दा दर्ता भएका छन् । आव २०७४.७५ मा १९ बालविवाहसम्बन्धी मुद्दा दर्ता भएका छन् । यस्तै २०७५.७६ मा २१, २०७६.७७ मा पाँच, २७७.०७८ मा १० र २०७८.०७९ पुससम्म पाँच मात्रै मुद्दा दर्ता भएको प्रहरी उपरीक्षक शाहीले जानकारी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *