महोत्तरी । “अहा…! आब अपन कञ्चनवन सेहो राजधानीमें समटागेल, कुछ होइत बुझाइय” ९अहा…! अब हाम्रो कञ्चनवन पनि राजधानी क्षेत्रभित्र समेटिएछ, केही हुन्छ कि क्या ? गत सोमबार प्रदेशसभा–२ ले प्रदेशको नाउँ ‘मधेश’ र राजधानी ‘जनकपुरधाम’ निर्णय गरेको सुन्नुभएका भङ्गाहा नगरपालिका–९ हरिणमरीका ७० वर्षीय हरिनारायण यादवले राजधानीमा पश्चिमतर्फ मिथिला माध्यमिकी परिक्रमा पथभित्रको क्षेत्र समेटिएको बुझेपछि खुशी रोक्न सकेनन् ।
“परम्परा सअपन कञ्चनवन रामसीताक वनविहारके ठाम रहल पहिचान रहबेकैल” (विगतदेखि हाम्रो कञ्चनवन रामसीताले वनविहार गरेको ठाउँ भन्ने पहिचान छँदै थियो) यादवले भने, “आब त प्रदेशके राजधानीमें सेहो पैरगेल, जरुर अई ठामके कुछ विकास होयत” (अब त प्रदेशको राजधानीभित्र पनि परेछ, जरुर केही विकास होला) । वनविहारका क्रममा रामसीताले फागु खेलेर उत्सव मनाएको ठाउँ मानिएको भङ्गाहा–९ को कञ्चनवन मिथिला माध्यमिकी परिक्रमाको आठाँैं दिनको रात्रि विश्रामस्थल रहँदै आएको छ ।
प्रदेशसभाले मधेश प्रदेशको राजधानी जनकपुरधाम हुने निर्णय गर्दै राजधानी क्षेत्रभित्र धनुषाको ढल्केवर हुँदै उत्तरमा पूर्वपश्चिम राजमार्ग, दक्षिणमा नेपाल –भारत सीमा, पूर्वमा कमला नदी र पश्चिममा मिथिला माध्यमिकी परिक्रमापथभित्रको क्षेत्र हुने परिभाषित गरेपछि विकासको अवसरबाट निकै पछि परेको देखिने कञ्चनवन वरपरका बासिन्दामा नयाँ आशा पलाएको छ । प्रदेश राजधानीभित्र समेटिएपछि यसभित्र बन्ने नयाँ संरचना आफ्नो ठाउँमा पनि पर्ने आशले कञ्चनवन आसपासका बासिन्दा खुशी छन् । “राजधानी भनेपछि त धेरै नयाँ संरचना बन्छन् नि !” कञ्चनवन सखुवाटोलका बासिन्दा तथा नेपाली कांग्रेसका स्थानीय नेता सुरेश यादव भने, “बन्ने नयाँ संरचनामध्ये केही मात्र हाम्रो ठाउँमा परे त विकासको सम्भावनाले फड्को हाल्छ ।” यादवका कुरामा नेकपा ९एमाले० भङ्गाहा–९ कमिटीका अध्यक्ष नागेन्द्र यादव र नेकपा (माओवादी केन्द्र)का बद्री यादव पनि सहमति जनाएका छन् ।
कञ्चनवन वरपरका जस्तै जिल्लाकै ध्रुवकुण्ड आसपासका बासिन्दा पनि अहिले राजधानीको कुराले दङ्ग छन् । राजधानीभित्रै परेपछि त विकास सम्भावनाका लागि आफ्नो ठाउँ पनि सरकारका आँखामा पर्ने यहाँका बासिन्दाको सोचाइ छ । “राजधानी त आब भगेल नई, सरकारके जरुर अई जगहमें आँइख पर्तै” (राजधानी त भइहाल्यो, अब यस ठाउँमा सरकारको आँखा अवश्य पुग्छ) ध्रुवकुण्ड रहेकै बलवा नगरपालिका–१० धमौराका ७५ वर्षीय मोहम्मद हासिम भने, “आब अई ठामक ध्रुवकुण्ड, रौजा मजार आ पडौलस्थानके विकासमें जरुर रङ्ग खिलत”(अब हाम्रा ठाउँका ध्रुवकुण्ड, रौजामजार र पडौलस्थानको विकासमा अवश्य रङ खिल्नेछ) ।
ध्रुवकुण्ड, रौजामजार र पडौलस्थान बलवा नगरपालिका क्षेत्रमा पर्ने मधेश प्रदेशभित्रकै अति महत्वपूर्ण धार्मिक सम्पदा मानिन्छन् । ध्रु्रवकुण्ड सत्ययुगमा राजा उत्तानपादका छोरा ध्रुवले तपस्या गरेर भगवान् विष्णुलाई रिझाएको ठाउँ मानिन्छ, जहाँ मिथिला माध्यमिकी परिक्रमाका यात्री सातौँ दिनको रात्रि विश्राम गर्छन् । त्यसैगरी रौजामजार इस्लाम परम्पराका सुफी सन्तहरू गदाली बाबा, रहमतअली बाबा र बहारअली बाबाको अन्त्येष्टिस्थल हो । नेपाल र भारतका लाखौंँ हिन्दू र इस्लाम धर्मावलम्बी भक्तजन आफ्नो मन्नत (इच्छित चाहना) को पुकार गर्न र पूरा भएपछि भाकलअनुसार पूजा दिन रौजा पुग्ने गर्छन् । मजारमा आफ्ना व्यथा र पीडाको वर्णन गर्दै यसबाट छुट्कारा पाउन पुकारा गर्नेको जमातमा हिन्दू र इस्लाम धर्मावलम्बी बराबर देखिन्छन् । त्यसैगरी हिन्दू परम्पराका सन्त कारिख महाराजको स्थानका रुपमा पडौलस्थान परिचित छ । यहाँ पनि इच्छित चाहना माग्न र भाकल दिन भदौ, कांित्तक, पुस र चैतबाहेकका महिनामा दैनिक हजारौंँ श्रद्धालु पुग्ने गर्छन् ।
त्यसैगरी परिक्रमापथको महोत्तरी गाउँपालिकामा पर्ने मडै तपस्वी भृगु ऋषिले तप र साधना गरेको पुण्यभूमि मानिन्छ । जलेश्वर देवाधिदेव महादेव जलमा विराजमान भएकाले हिन्दू आस्थाको केन्द्र हो । यहाँको मटिहानी त्रेता युगमा रामसीताको विवाहका लागि वेदी बनाउन माटो खनिएको ठाउँ विश्वास गरिन्छ । यसैगरी लोहारपट्टी पनि परिक्रमा पथले छोएको र यसभित्रै सबै बस्ती पर्ने स्थानीय तह हो । पिपरा गाउँपालिकालाई परिक्रमा पथले नछोए पनि यसको सबै क्षेत्र परिक्रमापथभित्र पर्छ । “कतै प्रदेशसभा भवन बन्नेछन् , कतै मन्त्रालय भवनहरू…१ राजधानी भएपछि अनेकानेक सम्भावना बढ्छन्, शहर विस्तारसँगै औद्योगिक विकासले पनि गति लिनेछ”, लोहारपट्टी–६ का पुराना राजनीतिक कार्यकर्ता ७० वर्षीय चन्देश्वर मण्डल भने, “यो मीठो कल्पना र सपना मात्र हैन, विकास त यसैगरी हुने हो नि !” मण्डलको कुरा चाख मानेर सुन्नुहुने सो बस्तीकै ७५ वर्षीय बदरुलहक कवारीलाई भने आफ्नै जीवनकालमा राजधानी प्रयोजनले बन्ने कुनै संरचना हेर्न पाइन्छ कि पाइन्न भन्ने खुलदुली बढेको छ ।
“सुनली त प्रदेशके नाम मधेश आ राजधानी जनकपुर भगेल, राजधानीमे अपन ठाम लोहारपट्टी सेहो समटायल सुनली” ९प्रदेशको नाउँ मधेश र राजधानी जनकपुर भयो भन्ने सुनियो, यस्तै हाम्रो बस्ती लोहारपट्टी पनि राजधानीमा समेटिएको छ रे भन्ने पनि सुनँे० बुढ्याइँले मुजैमुजा परेका अनुहारमा खुशी चम्काउँदै कवारी भने, “अई नाममें कुछ भेल हमसब देख पायब की नई १” (यस नाउँमा यहाँ केही हुने बन्ने कुरा चाहिँ हामीले देख्न पाउने हो कि होइन) ।
गत सोमबार प्रदेशसभाले आवश्यक बहुमतले प्रदेशको नाउँ र राजधानी निर्णय गरेपछि यसबारेको चासो परिभाषित राजधानीक्षेत्रभित्र निकै बढेको छ । अशिक्षित सर्वसाधारण किसान र सामान्य गृहिणीले पनि राजधानीभित्र आफ्नो ठाउँ परेकाले ‘चकाचौध’ (रमझ) को कल्पना गर्ने गरेका छन् । “आब अपन ठाम राजधानी भगेल नई, थालकिच्चडमें आब नई चल परत, सबदिस चम्कौवा सडक बैनजायत” (हाम्रो ठाउँ त राजधानी बन्यो नि १ हिलो र उबडखाबड बाटो अब हिँड्नु पर्दैन, सबै सडक चम्किला बन्नेछन्) जनकपुरबाट सात किलोमिटर दूरीको लोहारपट्टी–४ खुट्टा बस्तीकी ७५ वर्षीया रामपरी चौधरीले राजधानीको कुरालाई आफ्नो ठाउँसँग यसरी सोचेका रहेछन् ।




