समाचार

भूकम्प प्रतिरोधात्मक संरचना बनाउनमा जोड

विराटनगर । आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ प्रमुख नाराका साथ यो दिवस आज विराटनगरमा पनि मनाइएको छ ।

भूकम्पले नभई कमजोर संरचनाले मानवीयलगायत क्षति गर्ने भएकाले भूकम्प प्रतिरोधी संरचना बनाउन नागरिकलाई चेतना जगाउने उद्देश्यले यो नारा तय गरिएको बताइएको छ । वि.सं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको हो ।

भविष्यमा आउनसक्ने भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन सुरु गरेको थियो । गत वर्षमा ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ तथा २२औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दीगो सुख र समृद्धिको आधार’ प्रमुख नारा तय गरिएको थियो ।

भूकम्पको कम्पन चाल पाउनासाथ घुँडा टेकी गुडुल्की ओत लागि समात्ने, सिनेमाहल, मल, डिपार्टमेन्टल स्टोर वा प्रदर्शनी हलजस्ता ठाउँमा छन् । भने त्यहाँका सुरक्षाकर्मी वा कर्मचारीले भने बमोजिम गर्नुहुन, यदि भूइँतलाको मूल ढोका नजिकै हुनुहुन्छ भने छिटो र सुरक्षित निकास मार्ग प्रयोग गरी बाहिर निस्कनुपर्ने, सकेसम्म सानो वा साँघुरो गल्ली प्रयोग नगर्ने, सवारीसाधन चलाउँदाको अवस्थामा बायाँतर्फ मोडी पार्क गर्नुपर्ने, निषेधित क्षेत्र, अग्ला भवन, अग्ला रुख, पुलआदि छल्नुपर्ने, नआतिकन असुरक्षित व्यवहार, झ््यालबाट हामफाल्ने काम नगर्न, बाहिर निस्कनुअघि यथासम्भव आगोका स्रोत ग्यास चुलो, अगेनो, हिटरआदि बन्द गर्नुपर्ने, कम्पन रोकिएपछि मात्र झटपट झोलालिएर बाहिर निस्कनुपर्ने, हल्लाकोपछि लाग्न नहुने र सही एवं भरपर्दो सूचना प्राप्त भएपछि मात्र सुरक्षितस्थल तर्फ लाग्नुपर्ने चेतनामूलक सन्देश सो कार्यक्रममा दिइयो ।

सङ्घीय आयोजना कार्यान्वय इकाई मोरङद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा आयोजित सो आयोजनाका प्रमुख सुरेन्द्रकुमार साहले भूकम्पले गर्ने असरका विविध पक्षबारे चर्चा गरेका थिए भने इञ्जिनीयर अशोककुमार रामले भूकम्पबाट बच्न र बचाउने उपायका बारेमा प्रकाश पारेका थिए ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले कुनै पनि प्रविधिले रोक्न नसकिने भूकम्प प्राकृतिक कारण हो भन्दै यसबाट जनधनको क्षति हुन नदिन भूकम्प प्रतिरोधात्मक संरचना बनाउनुपर्ने सुझाव दिएका छन् । उनले निर्माण संरचनामा प्रयोग हुने सामानको गुणस्तरमा कुनै कमी हुन नदिन आमनागरिक सचेत हुनुपर्ने भन्दै भौतिक संरचनामा काम गर्ने मजदूर र प्राविधिकलाई पनि तालिम दिनुपर्नेमा पनि जोड दिएका छन् ।

नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाका सभापति सुवोधकुमार सिंहले भूकम्प जस्तो डरलाग्दो प्राकृतिक विपद्बाट बच्न मानिसले समयमै सचेत एवं सजग हुनुपर्ने धारणा राखेका छन् । नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका सभापति सञ्जीव खनालले भूकम्पबाट जोगिन ग्रामीण क्षेत्रमा पनि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् ।

वि.सं १९९० मा आएको महाभूकम्पले धेरै जनधनको क्षति गरेको र २०७२ साल वैशाख १२ गते ७।८ म्याग्नुचुडको आएको विनाशकारी भूकम्पले नेपालमा नौ हजार मानिसको ज्यान गएको, २२ हजार मानिस धाइते भएको, आठ लाख घर ध्वस्त भएको, पाँच हजार विद्यालयमा क्षति पुगेको र करिब १० विलियन अमेरिकी डलर बराबरको धनसम्पति क्षति भएको बताइएको छ ।

आगलागी, हावाहुरी, बतास, भूकम्प, बाढीपहिरो, चट्याङजस्ता विपद्बाट मानिसको ज्यान र सम्पति नष्ट हुने भएकाले अब निर्माण गरिने भवन भवन आचारसंहिता अनुसार बन्नुपर्ने प्राविधिकको भनाइ छ । उनिहरुले बलियो संरचनाबाट नै मानिसको ज्यान बचाउन सकिने भएकाले यसतर्फ सबैको ध्यान दिनुपर्ने बताए । उनिहरुले भूकम्प आफैमा विनाशकारी नभएर मानिसले बनाएको संरचनाबाट विनाश हुने भएकाले आफू सुरक्षित हुन बलियो संरचना बनाउनु आवश्यक रहेकोमा जोड दिएका छन् ।

कार्यक्रमपछि सशस्त्र प्रहरीका एक टोलीले जिल्ला प्रशासन कार्यालयको परिसरमा भूकम्पको समयमा गरिने उद्धार कार्यको प्रस्तुति समेत गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *