अर्थ

संखुवासभा-अमेरिका जनसम्पर्कद्वारा शारीरिकरुपमा अशक्त तेम्वालाई तीन लाख ६६ हजार २७७ रुपैयाँ आर्थिक सहयोग

संखुवासभा । संखुवासभा अमेरिका जनसम्पर्क नेपाली कांग्रेसले तेम्बा शेर्पालाई तीन लाख ६६ हजार २ सय ७७ रुपैयाँ आर्थिक सहयोग गरेको छ । घरबार बिहिन शारीरिकरुपमा अशक्त तेम्वालाई संखुवासभा अमेरिका जनसम्पर्क नेपाली कांग्रेसले आर्थिक सहयोग उपलब्ध गराएको हो ।
सामाजिक अभियान्ता एवं नेपाली कांग्रेसका युवा नेता रामेश्वर डाँगीको पहल र समन्वयमा संखुवासभा अमेरिका जनसम्पर्क नेपाली कांग्रेसले तेम्वालाई स्थायी घरबार व्यवस्थापनका लागि आर्थिक सहयोग संकलन गरी पठाइएको जनसम्पर्कका सचिव दिनेश डाँगीले बताए ।
संखुवासभा अमेरिका जनसम्पर्क नेपाली कांग्रेसका सहसंयोजक महिपाल घिमिरेले तेम्बाको शारीरिक अशक्तता, पीडादायी पारिवारीक अवस्था र आर्थिक विपन्नताको पीडामा मल्हमपट्टी लगाउन जनसम्पर्कको सहयोगले राहत पुग्ने विश्वास व्यक्त गरे । स्थापना कालदेखि नै जनसम्पर्कले निस्वार्थ रुपमा सामाजिक र मानवीय क्षेत्रमा कार्य गर्दैआएको उनले बताए ।

नेपाली कांग्रेस प्रदेशसभा‘ख’ संखुवासभाका सभापति दिपेन्द्रमान शाक्यको सभापतित्वमा औपचारिक कार्यक्रम आयोजना गरी संखुवासभा अमेरिका जनसम्पर्क नेपाली काङ्ग्रेस संयुक्त राज्य अमेरिकामार्फत प्राप्त भएको सहयोग रकम तेम्बा र उनको परिवारका सदस्यलाई हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस संखुवासभाका सभापति एवं पूर्व खानेपानी राज्यमन्त्री दीपक खड्काले जनसम्पर्कले उपलब्ध गराएको रकम तीन लाख ६६ हजार २ सय ७७ रुपैयाँ बराबरको चेक तेम्बालाई हस्तान्तरण गरे । खड्काले व्यक्तिगत रुपमा तेम्बालाई ५ हजार नगद सहयो पनि गरेका थिए ।


तेम्बाको वास्तविक पीडा सुन्दा जो कोहीको मन छुन्छ । तेम्बा साधारण मानिस जस्तो हिड्न सक्दैनन् । उनका हात खुट्टा राम्रोसँग चल्दैनन । साइकलको पाङ्ग्रा र काठको पाङ्ग्राबाट आफैले बनाएको हाते साइकललाई धकेल्दै स्कुल र आफू जानुपर्ने ठाउँ जान्छन । उनीमात्र होइन उनका बुबाको अवस्था झनै कारुणिक छ । तेम्बाका बुवा केहि बर्षदेखि ब्लड प्रेसरका कारण बिरामि परेर थालीएका छन् । उनको शरीरको एक पाटो नै चल्दैन ।


तेम्बाको परिवार साविक स्याबुन गाविस फच्याङमा गएको पहिरोले घर जग्गा बगाएपछि बिस्थापित भएको थियो । पहिरोका कारण घरबार विहिन बनेका उनीहरु जिल्लाका बिभिन्न ठाउँमा सर्दै अरुको जग्गामा बस्दै आएका थिए ।


त्यो दिन तेम्बाको जीवनको महत्वपूर्ण दिन बन्यो, जुन दिन नरबहादुर कार्की (सानु) मोटरसाइकलमा यात्रा गर्दै थिए । तेम्बा पनि सोहि सडकमा आफैले बनाएको साइकलमा चार पाउले घस्रदै थिए । नरबहादुरले उनको भिडियो खिचे र टिकटकमा अप्लोड गरे । अप्लोड गरेको केहि समयमै उनको त्यो भिडियो २ लाख भन्दा धेरैले हेरिसकेका थिए । आज तेम्बा शेर्पाको घर बास बसाउन यहाँसम्म आइपुग्ने भ¥याङको पहिलो खुड्किलो नरबहादुर कार्की (सानु) नै हुन् । उनले तेम्बालाई हेनफोन लगायतका सहयोग समेत गरेका छन् ।


त्यसपछि सञ्चारमाध्यमहरुले उनको बारेमा लेख्ने, सोध्ने र भिडियो बनाउन थाले । उनको कारुणिक पीडा देश विदेशका मानिले चाल पाउन थाले । र, देश बिदेशबाट सहयोग जुट्ने क्रम सुरु भयो ।


यस्तो थियो संखुवासभा अमेरिका जनसम्पर्क नेपाली कांग्रेसलाई डाँगीले लेखेको पत्र :

सामाजिक अभियान्ता तथा नेपाली काङ्ग्रेसका युवा नेता रामेश्वर डाँगी पनि तेम्बा शेर्पा घरबास बसाउने अभियान सफल बनाउन मेहनतको साथ लागि परे । संखुवासभा अमेरिका जनसम्पर्क नेपाली कांग्रेसलाई शेर्पलाई सहयोग गर्न लिखित रुपमै अपील गरे । संखुवासभा अमेरिका जनसम्पर्कले तेम्बालाई घरबास बसाउन सहयोग गर्ने निर्णय गरेर सहयोग रकम संकलन गरि नेपाली कांग्रेस संखुवासभामार्फत हस्तान्तरण गरेको जनसम्पर्कका सहसंयोजक अर्जुन कुमार कार्कीले बताए ।


यसै गरी संखुवासभा अमेरिका जनसम्पर्क नेपाली कांग्रेसका संयोजक विनोद कुमार गौलीले तेम्बालाई आर्थिक सहयोग उपलब्ध गराउने र नेपालमा कार्यक्रम गरि हस्तान्तरण गर्ने सबैप्रति धन्यवाद प्रकट गरेका छन ।

तेम्बा शेर्पाको स्थायी बसोबासका लागि डाँगीले अभियान चलाएपछि देश विदेशबाट करिब ८ लाख रुपौयाँ नगद संकलन भएको छ । संखुवासभा अमेरिका जनसम्पर्क नेपाली कांग्रेसद्वारा ३ लाख ६६ हजार २७७ रुपैया,युके समाज नेपालबाट उदय लिम्बूमार्फत ३ लाख ६१ हजार, हंकङ नेप्लिज गोल्डेन हार्ट गु्रपबाट ४० हजार, विभिन्न देश र स्वादेशबाट पनि तेम्बालाई आर्थिक सहयोग प्राप्त भएको अभियान्ता डाँगीले बताए ।

तेम्बाको स्थायी बसोबासका लागि चैनपुर ६ मा ७ रोपनी जग्गा तीन तलाको घर (अलैची बारी र धानखेत) बैना गरिएको छ । ९ लाख रुपैयाँ मुल्य राखेर बैना गरिएको उक्त जग्गा पसा गर्न पास खर्च बाहेक १ लाख रुपैया अपुग भएको डाँगीले बताए । ८ लाख मात्र पैसा जम्मा भएकाले जग्गा पास गर्ने पैसा नपुग्दा पास गर्ने एक भाका महिना कटिसकेको उनले जनाए ।


तेम्बालाई सहयोग गर्न इच्छुक व्यक्तिहरुलाई तेम्बा शेर्पाको नाममा राष्ट्रिय बाणिज्य बैक शाखा कार्यालय चैनपुर संखुवासभामा रहेको बचत हिसाव नम्बर २०३०१००००००५५१६ जम्मा गरिदिनु हुँन अभियान्ता डाँगीले आग्रह गरेका छन । थप जानकारी र सहयोगका लागि तेम्बालाई स्थायी बसोबास गराउने अभियान चलाइरहेका रामेश्वर डाँगीलाई फोन नम्बर ९८४२१२६०२२ वा स्वयं तेम्बा शेर्पा ९८१५३८०९६९ मा सम्पर्क गर्न सकिने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *