अर्थ

कछुवाको गतिमा विकास पूर्वाधार

काठमाडौँ । संविधान निर्माणसँगै स्थायित्वतिर लम्केको नेपालको राजनीति पुनः अस्थिरताको दिशामा बढेसँगै विकास पूर्वाधारमा असर परेको छ ।

गत आमनिर्वाचनमा सबै राजनीतिक दल तथा उम्मेदवारले आफ्नो घोषणापत्रमा विकास निर्माण तथा आर्थिक समृद्धिको नारालाई प्रमुख प्राथमिकता दिएका थिए । आमनिर्वाचनको चार वर्षसम्म आइपुग्दा समृद्धि तथा विकास निर्माणको दिशामा दलहरू अघि बढेको पाइएको छैन । राजनीतिक दलहरूले पछिल्ला दिनमा विकास र समृद्धिको नारालाई बिर्सिएर पुनः राजनीतिक जोड घटाउमा लाग्दा विकास निर्माणको काम ओझेलमा पर्न थालेको छ ।

पछिल्ला दिनमा प्रमुख दलहरू आफ्नो पार्टीको महाधिवेशनमा होमिएका छन् । प्रमुख राजनीतिक दलले वडा तथा पालिका हुँदै महाधिवेशनको तयारी गरिरहँदा विकास निर्माण तथा समृद्धिको नारालाई समेत प्राथमिकता दिन छाडेका छन् ।

गत आमनिर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले विकास र समृद्धिको नारा दिएर संयुक्त रूपमा संघ तथा प्रदेशमा उम्मेदवारी दिएका थिए । सो निर्वाचनबाट करिब दुई तिहाइ बहुमत हासिल गर्दै दुई पार्टी एकता गरेर एकल बहुमतको सरकार गठन गरेका थिए ।

सरकार गठनसँगै विकास पूर्वाधारका कतिपय कामले गतिसमेत लिन थालेको थियो । दुई पार्टी एकताबाट बनेको नेकपाभित्र विवाद सिर्जना भएसँगै पार्टी टुटफुटमा परिणत बने भने त्यससँगै विकास निर्माणमा असर पर्न थालेको थियो । नेकपाभित्रको विवादसँगै विकासको गति पुरानै स्थितिमा आएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *