अर्थ

आजदेखि विद्युतको नयाँ महसुल दर लागू

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले मंसिर १ गते देखि लागू हुने गरी नयाँ विद्युत महशुल शुल्क लगाउने भएको छ । नयाँ दर रेटवाट विपन्न समुदायले फाइदा उठाउन पाउने छन् । प्राधिकरणको सिफारिसमा विद्युत नियमन आयोगले नयाँ महशुल दर निर्धारण गरेको हो । विपन्न वर्गलाई लक्षित गरेर लागू गरिएको नयाँ महशुल दरले २५ लाख जनता लाभान्वीत हुने अनुमान गरिएको छ ।

अब जम्मा ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताहरूलाई इनर्जी शुल्क नलाग्ने र न्यूनतम शुल्क ३० रुपैयाँमात्र लाग्नेछ । यसवाट लाखौं जनता लाभान्वीत हुनेछन् । मासिक ३० रुपैयाँ मात्रै सर्भिस चार्ज लिने व्यवस्थाबाट करिब २२ लाख ग्राहकहरूलाई लाभ पुग्ने अनुमान गरिएको छ ।

आयोगले ग्राहस्थ वर्गमा विद्युतको उपभोग बढाउन तथा उपभोक्ता माझ विद्युतको उचित मूल्य सुनिश्चित गर्न ग्राहस्थ वर्गको महशुलमा औसतमा २।८४ प्रतिशतले घटाएको हो । आयोगले सिंगल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका ग्राहस्थ उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साबिकको महशुलमा २५ रुपैयाँले कटौती गरी क्रमशः १००, १२५ र १५० रुपैयाँ कायम गरेको छ। त्यस्तै आयोगले मासिक ४ सय युनिटमाथि विद्युत खपत गर्ने उपभोक्ताहरुको इनर्जी शुल्कमा प्रति युनिट १ रुपैयाँ घटाएको छ।

आयोगले आन्तरिक रुपमा विद्युत खपत वृद्धि गराउन सिंगल फेजबाट आपूर्ति लिइ मासिक १५१ युनिट भन्दा बढी विद्युत खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताका लागि विद्युतीय चुल्हो जस्ता घरायसी उपकरणको प्रयोगलाई प्रोत्साहन गर्न महशुल दर साबिकको भन्दा कम गरेको छ। त्यस्तै सिँचाइका ग्राहकको महशुल दर पनि घटाएको छ भने यसपटक सिँचाइका ग्राहकले सबैभन्दा बढी लाभ पाएका छन्, उनीहरुको महशुल औसतमा ४०।६९ प्रतिशतसम्म घटाइएको हो। २३०र४०० भोल्टबाट आपूर्ति लिने सिँचाइ वर्गका उपभोक्ताको इनर्जी शुल्क प्रति युनिट २।०५ ले घटाएर २।२५ कायम गरिएको अध्यक्ष सिंहले बताए।

आयोगका अनुसार व्यवसाय सञ्चालनका लागि ४ सय भोल्टको थ्री फेजको लाइन लिने घरायसी वर्गका ग्राहकले अब एक युनिटको वर्षामा १०।५० र हिउँदमा ११।५० रुपैयाँ फरक–फरक महशुल तिर्नुपर्ने छ। यसअघि चार सय युनिटसम्म खपत गरेमा ११।५० रुपैयाँ र चार सय युनिटमाथि खपत गरेमा १२ रुपैयाँ महशुल थियो।

आयोगले इन्डक्सन चुल्हो र विद्युतीय उपकरणको प्रयोग बढी हुने युनिटअनुसारको स्ल्याबमा पनि महशुल दर घटाएको छ। त्यसैगरी सिँचाइका ग्राहकको महसुल पनि घटेको छ। आयोगले स्ल्याबलाई ६ वटामा झार्ने निर्णय गरेको छ। यसले इन्डक्सन चुल्होको प्रयोग गर्ने तहका ग्राहकलाई थप सहुलियत मिल्ने आयोगको दावी छ। अब २० युनिटसम्मको पहिलो स्ल्याब हुनेछ भने २१ देखि ३०, ३१ देखि ५०, ५१ देखि १००, १०१ देखि २५० र २५१ युनिट भन्दा माथिसम्मको स्ल्याब कायम गरिएको छ। अब महिनामा १०१ युनिटभन्दा बढी खपत गर्ने ग्राहकले तिर्नुपर्ने महशुल कम भएको छ। यी भन्दा माथिका २ वटा स्ल्याबमा प्रतियुनिट ५० पैसादेखि एक रुपैयाँसम्म कम महसुल कायम भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *