ताजा समाचार

कक्षा १२ को एक हजार उत्तरपुस्तिका पुनः परीक्षण गर्न सिफारिस

काठमाडौं । कक्षा १२ को उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको विषयमा छानबिन गर्न गठित टोलीले राष्ट्रिय परीक्षा बोर्ड प्रदेश–१ विराटनगर परीक्षण केन्द्रका करिब १ हजार उत्तरपुस्तिका पुनः परीक्षण गर्न सिफारिस गर्ने तयारी गरेको छ ।टोलीले विराटनगरमा बोर्ड कर्मचारी, परीक्षण केन्द्रका कर्मचारी, सरोकारवाला निकायसँग गरेको छलफलपछि अंग्रेजी र अर्थशास्त्र विषयका करिब १ हजार उत्तरपुस्तिका पुनः परीक्षण गर्न सिफारिस गर्ने तयारी गरेको हो ।

विराटनगरको गोग्राह माध्यमिक विद्यालयमा प्रदेश–१ को उत्तरपुस्तिका परीक्षण गर्ने केन्द्र तोकिएको थियो । असोज १६ देखि शुरु भएको परीक्षणमा केन्द्रका कार्यालय प्रमुख डम्मरकुमार बतासले नै अनियमितता गरेको आरोप लागेको छ । विवाद बढेपछि २१ परीक्षण स्थगित भएको थियो । सो प्रदेशअन्तर्गत १३ जिल्लाका परीक्षा केन्द्रका उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था थियो ।धेरै विद्यार्थी भएका कारण छिटोछिटो परीक्षण गर्नुपर्ने भएकाले अनियमितता भएको देखिएको छ । स्रोतका अनुसार कार्यालय प्रमुख बतासमाथि विराटनगरका मेरिल्यान्ड, शिक्षादीप र अरनिकोलगायत केही नाम चलेका विद्यालयका शिक्षकलाई परीक्षक नियुक्ति गरी आफ्नै विद्यार्थीका उत्तरपुस्तिका जाँच गर्न दिएको आरोप लागेको छ । कार्यालय प्रमुख बतासले ती विद्यालयका प्राचार्यसँग राम्रो सम्बन्ध भएका कारण आफ्नै विद्यालयका विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्न लगाएको आरोप अन्य विद्यालयको प्राचार्यको छ ।

विराटनगरको परीक्षा केन्द्रमा खटिएका कर्मचारी खाना खान गएको समयमा कार्यालय प्रमुख बतासले उत्तरपुस्तिका जाँच्ने शिक्षकलाई उसैको विद्यालयको उत्तरपुस्तिका परीक्षण गर्न दिएको आरोप लागेको छ । उत्तरपुस्तिकामा सिम्बोल नम्बरको व्यवस्था भए पनि बोर्ड कार्यालयले केही ठूला विद्यालयको उत्तरपुस्तिका चिन्ने गरी राखेको बोर्डकै कर्मचारीको भनाइ छ ।आरोप लागेपछि बोर्डले प्रदेश–१ प्रमुख बतासलाई मुख्य कार्यालयमा सरुवा गरेको छ । बोर्डका सदस्य–सचिव दुर्गा अर्यालले छानबिन टोलीको सिफारिसको आधारमा बोर्डले निर्णय गर्ने बताउँदै बतासलाई बोर्डको योजना तथा अनुसन्धान महाशाखामा सरुवा गरिएको बताउनुभयो । बोर्डका कर्मचारीले भने कारबाही गर्नुपर्ने कर्मचारीलाई महत्वपूर्ण जिम्मेवारी दिएको आरोप लगाएका छन् ।
आजको नेपाल समाचारपत्रमा खबर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *