अर्थ

दिनदिनै बढ्दो महँगीको मार, चुलो बाल्नै सकस

काठमाडौँ । अनामनगर बस्दै आएकी काभ्रेकी फुलमाया तामाङलाई रातभर निद्रा लाग्दैन । दैनिक ज्याला–मजदुरी गरेर ५ सय आम्दानी हुन्छ । कोठा भाडा मासिक ७ हजार तिर्नुपर्छ ।


दुई बच्चा छन्, श्रीमान् साथमा छैनन् । फुलमायासँग दैनिक ज्याला–मजदुरीबाहेक अरू आयस्रोत स्रोत छैन । अरूका घरमा भाडा माझ्छिन्, लुगा धुन्छिन् । मासिक मुस्किलले १५ हजारसम्म कमाइ हुन्छ । ‘जेनतेन बच्चाहरू पालिरहेकी छु, महँगीले उनीहरूलाई बिहान–बेलुकी खुवाउनसमेत सकिरहेको छैन,’ फुलमाया भन्छिन्, ‘चिन्तैचिन्ताले राति निन्द्रा पनि लाग्दैन । महँगीले गर्दा हामीजस्ताले भोकै मर्ने अवस्था आउन लाग्यो ।’

अनामनगरमै कोठा भाडामा बस्दै आएकी सीता गुरुङको पीडा फुलमायाको भन्दा कम छैन । उनी पनि घरघरमा भाडा र लुगाकपडा धोएर छोराछोरी पाल्छिन् ।

दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएपछि सीतालाई पनि ‘बच्चा कसरी पाल्ने र चुलो कसरी बाल्ने ?’ चिन्ताले निन्द्रा लाग्दैन । भन्छिन्, ‘ग्यासकै ७५ रुपैयाँ बढेर १५ सय ७५ पुगिसक्यो । के गर्ने होला ?’

अकासिँदो महँगी दैनिक ज्याला मजदुरी गर्नेका लागि मात्र होइन, मासिक तलबीसमेत मारमा परेका छन् । दैनिक उपभोग्य तेल, चिनी, दाल, चामल, गेडागुडी, हरियो तरकारीको मूल्य अकासिएको छ ।

दुई साता नबित्दै पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासमा मूल्यवृद्धि भएपछि सर्वसाधारण थप महँगीको पीडा खेप्न बाध्य छन् । खाद्य तथा हरियो तरकारीको मूल्य छोइसक्नु वृद्धि भएको सर्वसाधारण बताउँछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *