दमौली । तनहुँका कृषकले फूलखेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । सयपत्रीको फूल विक्रीबाट आम्दानी हुन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् । भिमाद नगरपालिका–८ धारापानीका गोविन्द अधिकारीले वर्षौदेखि बाँझो रहेको जग्गामा सयपत्री फूलखेती सुरु गरेका छन् । मुस्किलले एक मुरी कोदो नफल्ने बारीमा गत वर्ष रु ६० हजारको फूल फूलेपछि उनले उत्साहित भएका छन् । यो वर्ष उहाँले साढे चार रोपनी बारीमा व्यावसायिक रुपमा सयपत्री फूल लगाएका छन् ।
चितवनबाट कलकत्ते सयपत्रीको दश हजार बिरुवा ल्याएर उनले बाँझो बारीमा सयपत्री रोपेका छन् । भदौ दोस्रो साता लगाएको सयपत्रीको फूल यतिबेला ढकमक्क छ । कोदो समेत फूल्न छाडेको बारीको गह्रामा ढकमक्क फूल फुल्दा मनमोहक देखिएको छ ।
एउटै बोटमा ८० वटासम्म सयपत्रीको थङ्गा फुलेको छ । तिहारमा मात्रै सयपत्री बेचेर रु दुई लाख बढी आम्दानी हुने उनले बताए । सयपत्री फूलको बजार राम्रो रहेकाले यसबाट सन्तुष्ट रहेको उनले सुनाए । “फूल देखेपछि हामी लैजान्छौ भनेर व्यापारीको फोन आउँछ,” उनले भने, “वर्षेनी तिहारका लागि भारतबाट करोडौँको फूल नेपाल आउँछ भनेपछि बजार पाउन दुःख छैन ।”
माग धेरै आएपछि आफूले लगाएको फूलले मात्र नपुग्ने भएकाले चितवनबाट ल्याएर विक्री गर्ने गरेको उनले बताए । गत वर्ष पनि लगाएको सयपत्री फूल सबै घरबाटै विक्री भएको उनले सुनाएका छन् ।
एसएलसी सकाएपछि उनले वैदेशिक रोजगारीका लागि साउदी पुगेका थिए । दश वर्ष विदेशमा बसेपछि नेपाल फर्किएर केही गर्ने सोचका साथ उनले यातायात सेवा सुरु गरेका छन् । त्यसबाट खासै आम्दानी हुन नसकेपछि उनले फेन्सी पसल सञ्चालन गरेका छन् । केही समयको फेन्सी व्यवसायपछि उनले किराना पसल चलाएका छन् । हाल किराना सँगसँगै फूलखेती निरन्तर छ । सयपत्रीमा सम्भावना देखेका उनले अब फूल खेतीलाई निरन्तरता दिने पक्षमा छन् । यसपाली व्यावसायिक तरिकाले लागेका उनले अर्को वर्ष फूल खेतीलाई अझै विस्तार गर्ने सोच रहेको बताए ।




