भक्तपुर । ४५ दिनभित्र नगरकोट सडक सम्पन्न गर्ने अभियानमा जुट्नु भएका बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । प्रचण्डलाई भेट्न मन्त्री भँडेल आज बिहान उनको निवास खुमलटार पुगेका हुन् ।
नगरकोट सडक निर्माण कार्यसँग अध्यक्ष प्रचण्डका घरबेटी भनी निर्माण व्यवसायी शारदा अधिकारीको नाम जोडिएकाले मन्त्री भँडेलले सडक निर्माण छिटो सक्ने पहल स्वरूप अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन् । मन्त्री भँडेलले अध्यक्ष प्रचण्डसँग नगरकोट सडक खण्ड नबन्दा लामो समयदेखि पर्यटन तथा स्थानीय जनताले ठूलो दुःख पाउनु परेको बताए ।
प्रचण्डले सडक समयमै सम्पन्न गर्न पहल गर्ने आश्वासन दिएका मन्त्री भँडेलले बताए । सो क्रममा निर्माण व्यवसायी अधिकारीले ४५ दिन भित्र सडक निर्माण सम्पन्न गर्ने विश्वास दिलाएको मन्त्री भँडेलले जानकारी दिएका छन् ।
भेटमा संलग्न नेपाली काँग्रेस क्षेत्र नम्बर १ भक्तपुरका सभापति जीवन खत्रीका अनुसार मन्त्री भँडेलले अध्यक्ष प्रचण्डसँग आफूले सडक निर्माणलाई मुख्य चुनावी मुद्दा बनाएको र अहिले संयोगले सम्बन्धित मन्त्री भएकाले सडक निर्माणमा सहयोग गर्न आग्रह गरेका थिए ।
उनले अध्यक्ष प्रचण्डसँग समेत सडक निर्माणको ढिलासुस्तीमा प्रचण्डका घरबेटी भनी जोडिने गरेका कारण पनि सडक निर्माणमा चाँसो राखी सत्ता गठबन्धनको समेत इज्जत बढाउनु अनुरोध गरेको सभापति खत्रीले बताए । खत्रीका अनुसार सडक निर्माण कार्यमा पछिल्ला दिनमा तीव्रता आएको जानकारी आफूले पाएको प्रचण्डले बताए । कमलविनायक नगरकोट सडक लामो समय देखि नबन्दा स्थानीयले दुःख पाउनु परेको छ ।
स्थानीय तथा पर्यटकले धुलो सडकका कारण खेप्नु परेको हैरानी समाधानका लागि भौतिक पूर्वाधार मन्त्री भँडेल आफै जुट्नु भएको हो । जनताको सर्वाधिक चासोको एवं मर्का परेको नगरकोट सडक ४५ दिन भित्र सम्पन्न गर्न मन्त्री भए लगत्तै भँडेल विभिन्न पक्षसँग छलफलमा जुटेका हुन् ।
सडक समयमै नबन्दा जहिले पनि अध्यक्ष प्रचण्डका घरबेटी भनी अधिकारीको नाम जोडिने गरेकाले भँडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं सत्ता गठबन्धनका नेता प्रचण्डसँग छलफलमा जुटेका ह्ुन् । निर्माण व्यवसाय क्षेत्रमा आबद्ध र चाँगुनारायण प्रदेशबाट निर्वाचित भँडेलको चुनावी नारा नै नगरकोट सडकलाई प्राथमिकता दिने रहेको थियो । भेटमा माओवादी केन्द्रका नेता दिलीप प्रजापति, डीपी ढकाल र प्रदेश सांसद प्रतिमा श्रेष्ठको समेत सहभागिता रहेको थियो ।




