अर्थ

खरको छानो फेरेर दशैंको सुरसार गर्दै विपन्न

दमौली । व्यास नगरपालिका–५ चिन्तुटारका चन्द्रबहादुर दरैको खरको छाना भएको घर छ । वर्षौँदेखि उनले सोही खरको छानामुनि जीवन निर्वाह गर्दै आएका छन् । खरको छाना जोखिमपूर्ण भए पनि आर्थिक अवस्थाकै कारण छाना फेर्न नसकेको दरैले बताए । “सबैभन्दा बढी डर आगलागीबाट हो, छाना फेर्न नसक्दा वर्षौँदेखि खरको छानामै ओत लागियो”, उनले भने, “पानी पर्दा पनि चुहिने समस्या त छँदैछ ।”

सोही वडाको चुँदेर निवासी अनिता थापाको पनि खरले छाएको घर छ । वर्षात्का समयमा खरको छाना चुहिएर समस्या हुने गरेको उनले गुनासो गरेका छन् । “ठूलो पानी पर्दा चुहिएर साह्रै समस्या छ, आगलागीको जोखिम पनि हुने सुनिन्छ”, उनले भने । मजदुरी गरेर घरखर्च चलाउँदै आउनुभएका चिन्तुटारका सुकबहादुर दरैले जस्ताको पाताले घर छाउने हैसियत नभएको बताए । “दैनिक काम नगरे छाक टार्नै मुस्किल हुन्छ, जसोतसो जे छ त्यहीअनुसार नै जीवन निर्वाह गर्दै आएका छौँ”, उनले भने । अब उहाँहरु खरको छानामुनि बस्नुपर्दैन । उनिहरुले अब नयाँ जस्तापाताले घर छाएर दशैँ मान्न पाउने भएका छन् । खरको छानामुक्त अभियानअन्तर्गत व्यास –५ ले विपन्न परिवारलाई जस्तापाता प्रदान गरेको छ । वर्षौँदेखि खर र फुसको छानामुनि बसोबास गर्दै आएका विपन्न परिवार पहिचान गरी खरको छानामुक्त अभियान सुुरु गरिएको व्यास –५ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् । “खरको छाना जोखिम भएकाले सर्वसधारणलाई सुरक्षित बनाउन नगरपालिकाले जस्ताको छाना छाउने काम सुरु गरेको छ”, उनले भने ।

व्यास –५ ले विनियोजन गरेको बजेटबाट सर्वसाधारणलाई जस्तापाता वितरण सुरु गरिएको श्रेष्ठले जानकारी दिएका छन् । वडाबाट विनियोजिन गरिएको रु १० लाखको बजेटबाट जस्तापाता वितरण थालिएको छ । खरको छानामुक्त बनाउन वडामा रु १९ लाख २७ हजार २६९ बजेट आवश्यक पर्ने र बाँकी रकम भने नगरपालिकाले विनियोजन गरेको छ ।

“खरको छानामुक्त वडा बनाउने अभियानअन्तर्गत खरको छानामुनि बस्दै आएका नागरिकको तथ्याङ्क सङ्कलन गरी जस्तापाता वितरण सुरु गरेका छौँ”, उनले भने, “यही वर्षभित्र वडा खरको छानामुक्त बनाउँछौँ ।” वडा कार्यालयले पहिलो चरणमा २८ घरधुरीलाई जस्तापाता वितरण गरेको छ । खरको छानामुक्त बनाउनका लागि प्रदेश सरकारबाट पनि लाभग्राही छनोट भइआएकाले दोहोरो नपर्ने गरी वितरण गरिने जनाइएको छ ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेले नगरवासीको सुरक्षा नगरपालिकाको दायित्व भएकाले खरको छाना भएका सबै घरलाई जस्तापाताले छाउने जानकारी दिएका छन् । खरको छानामुक्त बनाउन नगरपालिकाले बजेट विनियोजन गरेको र त्यसको सुरुआत व्यास–५ बाट भएको उनले बताए । “खरको छाना हुँदा आगलागीलगायतका जोखिम हुन्छ, सोहीबमोजिम खरको छानामुक्त बनाउने नगरपालिकाको अभियान हो”, उनले भने, “सबै वडामा यो अभियान सञ्चालन हुन्छ ।” नगरपालिकाले बोलपत्र प्रक्रियाबाट जस्तापाता खरिद गरिसकेको उनले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *