लुम्बिनी प्रदेश

लुम्बिनीमा आज प्रतिस्थापन बजेट आउँदै

बुटवल । शंकर पोखरेल नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिष्थापन गर्नेगरी केसी नेतृत्वको लुम्बिनी प्रदेश सरकारले आज बजेट ल्याउँदै छ । पटक पटक स्थागित भएको प्रदेशसभा बैठकमा आज प्रतिष्थापन बिधेयक मार्फत नयाँ बजेट ल्याउन लागिएको हो । 

आज दिउसो १ बजे बस्ने लुम्बिनी प्रदेशसभाको बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बजेट पेश गर्नेछन् ।

एमाले नेता शंकर पोखरेल नेतृत्वको अघिल्लो सरकारले चालु आर्थिक वर्ष २०७८/७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । तत्कालिन सरकारले अध्यादेशमार्फत बजेट ल्याएको भन्दै यसलाई प्रतिष्थापन गर्न यो बजेट ल्याउन लागिएको हो ।

४ दलको गठबन्धनबाट सरकार बनेपछि यो बजेट कार्यान्वयनमा आउन सकेको थिएन् । 

यस्ता हुनेछन  बजेटका प्राथमिकता

अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई संसोधन सहित नयाँ कार्यक्रम थपिएर बजेट ल्याउने छन् । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री खड्काले  नयाँ बजेट संसदबाट पास गर्ने बताए । 

नयाँ बजेटमा लुम्बिनी प्रदेश बैंक स्थापना, बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रर्वद्धनका लागि बहु-साँस्कृतिक डबली निर्माण तथा निजी क्षेत्रसँगको सहकार्यमा स्थानीय कच्चा पदार्थमा आधारित मायाको चिनो तथा उपहार सामग्री उत्पादन उद्योग स्थापना, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम लगायतका नयाँ कार्यक्रम समेटिने छन् ।

अवरुद्ध पार्ने एमालेको चेतावनी
लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन बिधेयक मार्फत बजेट ल्याउने तयारी गरिरहँदा प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले भने आजको बैठक पनि अवरुद्ध पार्ने चेतावनी दिएको छ । एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले आफुहरुका माग पुरा नभएसम्म सदन चल्न नदिने बताएका छन् । 

एमालेले स्वतन्त्र सांसद अजय शाही र गत १९ वैशाखमा माओवादी केन्द्र रोजिसकेकी विमला खत्री वलीलाई आफ्ना सांसद दावी गर्दै उनीहरूलाई पदमुक्त गर्नुपर्ने मागसहित प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ ।

यस्तो छ सत्तापक्षको रणनीति

नेकपा एमालेको बिरोधकै बिचमा पनि प्रतिस्थापन बिधेयक संसदबाट पारित हुने सत्तापक्षका नेताहरुले बताएका छन् । एमालेले गर्दै आएको माग अदालतबाट टुंगीएको र प्रदेशसभा सचिवालयले कारवाही गर्न नमिल्ने भनिसकेकोले आन्दोलनको कुनै औचित्य नरहेको सत्तापक्षका नेताहरुले बताएका छन् । 

गठबन्धनको सरकारलाई सहयोग गरेपनि जनमोर्चा प्रतिपक्षमै रहेकोले संसदबाट प्रतिस्थापन बिधेयक पास हुने सत्तापक्षका एक नेताले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *