ओखलढुङ्गा । यहाँ चिराइतो प्रशोधन केन्द्र अलपत्र परेको छ । कृषि उद्यम केन्द्र र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त साझेदारीमा सञ्चालन गरिएको ‘एक जिल्ला, एक उत्पादन कार्यक्रम’अन्तर्गत सिद्धिचरण नगरपालिका–११ मा स्थापना गरिएको चिराइतो प्रशोधन केन्द्र अलपत्र परेको हो । चार वर्षअघि चार रोपनी क्षेत्रफलमा भवनसहितका संरचना बनाइएको भए पनि अहिलेसम्म केन्द्र सञ्चालनमा आउन सकेको छैन । कृषि विकास मन्त्रालयले ‘एक जिल्ला, एक उत्पादन’ कार्यक्रमअन्तर्गत चिराइतो ड्राइङ एण्ड कन्स्ट्रक्सनका लागि कृषि उद्यम केन्द्रलाई आर्थिक वर्ष २०७२/७३ मा रु एक करोड ४६ लाख अनुदान दिएको थियो ।
उद्योग वाणिज्य सङ्घको नेतृत्वमा रहेको ओखलढुङ्गा जडीबुटी प्रोडक्ट्स प्रालिले प्रशोधन केन्द्र सञ्चालन गर्ने जिम्मा लिएको थियो । केन्द्रको भवन निर्माण बाहेक अरु काम भएका छैनन् । केन्द्रबाट प्राप्त अनुदानमध्ये ५५ लाखको भवन निर्माण गरिएको र अन्य रकमले केही मेसिन आंैजार खरिद गरिएको उद्योेग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताए । मेसिन प्रशोधन गर्ने हुनुपर्नेमा प्याकिङ गर्ने मात्रै खरिद भएकाले केन्द्र सञ्चालनमा आउन नसकेको उनको भनाइ छ । तत्काल केन्द्रको अनुदान नपाए पनि जिल्लामै लगानी जुटाएर प्रशोधन मेसिन ल्याएर केन्द्र सञ्चालन गर्ने लक्ष्य राखिएको उनले बताए ।
“हामीले अहिले सेवा सुरु गरिरकेका छैनौं केही समयमा सुरु हुन्छ”, मास्केले भने, “भवन बनाएर विद्युत् व्यवस्थापनसहितका काम भइसकेका छन्, प्रशोधन गर्ने मेसिन छैन, पहिले ल्याएको प्याकिङ गर्ने मेसिन परेछ, त्यसैले केही समय ढिला भएको हो, अब जिल्लामै हामी आफैं लगानी गरेर भए पनि मेसिन किन्छौं ।” रु ५५ लाखको भवन र रु ९५ लाखमा मेसिन, जेनेरेटरसहितका उपकरण खरिद गरिएको उनले जानकारी दिएका छन् । खरिद गरिएका मेसिन खिया लाग्ने अवस्था आए पनि सुरक्षित राखिएको उनले बताए ।




