अर्थ

सदस्यमा दोहोरोपना नहुने गरी लघुवित्तका शाखा खोलिने

काठमाडौँ । माइक्रोफाइनान्स एसोसियशन अफ नेपालले शाखा कार्यालय विस्तार गर्दा सदस्यमा दोहोरोपना नहुने गरी कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।

संस्थाको आज सम्पन्न अन्तरक्रियापछि जारी संयुक्त विज्ञप्तिअनुसार कर्मचारीको नियुक्ति गर्नुपूर्व अघिल्लो लघुवित्त संस्थाको राजीनामा स्वीकृति प्राप्त भएको पत्र लिने र कर्मचारीको दक्षता अधिवृद्धि कार्यक्रम सञ्चालन गरी समय सान्दर्भिक सेवा सुविधा प्रदान गर्ने सहमति भएको छ ।

सूचना प्रविधिको अधिकतम उपयोग गरी संस्थाको लागत कम गर्ने, ग्राहक सदस्यलाई पारदर्शीरुपमा कारोबारको जानकारी गराउने, अनुगमन र निरीक्षण, ऋण विश्लेषण तथा सदुपयोगिता परीक्षणको प्रभावकारीता वृद्धि गर्ने सहमति भएको संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए । यस्तै, लघुवित्त क्षेत्रलाई दिगोरूपमा सञ्चालन गर्न ग्राहक संरक्षणका सिद्धान्तको परिपालना गर्ने, कर्जा सूचना केन्द्रमार्फत अनिवार्य अनलाइन सूचना प्रदान गर्न सहमत भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, जिल्ला समन्वय समिति, गाँउपालिका, नगरपालिकालगायत अन्य प्रशासनिक निकायका पदाधिकारीलाई लघुवित्त कार्यक्रमको प्रभावकारीतासम्बन्धी जानकारी तथा समन्वय गर्ने, सामाजिक कार्यक्रमको प्रवद्र्धन गर्न विभिन्न प्रकारका कार्यक्रम गर्ने र लगानीकर्तालाई लघुवित्तसम्बन्धी महत्वकाबारे जानकारी गराउनेलगायत विषयमा सहमति भएको उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *